हेटौंडाः मकवनपुर जिल्लामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गर्न ५ सय ७६ जना प्रहरी आवश्यक रहेको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक वामदेव गौतमले बताउनुभयो । सोमबार दशैंको शुभकामना आदानप्रदान कर्यक्रममा गौतमले विभिन्न तबरबाट नागरिकलाई सेवा दिन उक्त प्रहरीको आवश्यक रहेको बताउँदै प्रहरीहरुलाई बिदा नदिएको जानकारी दिनुभयो ।

चाडपर्वमा विभिन्न खालका घटना घट्ने भएकाले त्यसको न्यूनीकरण गर्न २४ सै घण्टा प्रहरी परिचालन गरिने गौतमले बताउनुभयो । प्रहरीले मावानपुरमा ८ वटा नागरिक सहायता कक्षको स्थापना गरेको बताउँदै नागरिकलाई चाडपर्व लक्षित गरी सवारी साधनमा हुने ठगी र चोरी चकारी रोक्न लामो सवारी साधनमा हतियारसहित ३ जनाको दरले प्रहरीलाई आवतजावत गर्ने व्यवस्था मिलाइने गौतमको भनाइ छ ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि मकवानपुर जिल्लामा एक हजार ६ सय ९९ जना म्यादी प्रहरी माग भएको पनि गौतमले बताउनुभयो । चाडपर्वमा सभ्य तरिकाले मनाउन गौतमले आग्रह समेत गर्नुभयो ।