नेपालीहरुको सबैभन्दा ठूलो चाड बडादशैं नजिकिँदै छ । दशैं, तिहार, छठजस्ता नेपालीहरुको महत्वपूर्ण चाडपर्वको आगमनसँगै दैनिक उपभोग्य सामग्रीको मूल्य पनि वृद्धि भइरहेको छ । करिब एक वर्षदेखि नेपालको बैंकिङ क्षेत्रमा लगानीयोग्य रकम अर्थात् तरलतामा कमी भएपछि बैंकको व्याजदर वृद्धि भएको छ । यसले धेरै वस्तु तथा सेवाहरुको मूल्यवृद्धि भएको छ । यस्तै, रुस–युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय जगतमै मूल्यवृद्धिको समस्या बढाएको छ । विशेषगरी पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिका कारण अन्य वस्तु तथा सेवामा मूल्यवृद्धि भएको छ । अमेरिकी डलरको विनिमय दर बढ्दै गएका कारण पनि आयातित सामानको मूल्यवृद्धि भएको छ । त्यसमाथि चाडपर्वको बेलामा नेपाली बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, मिसावट तथा मूल्यवृद्धि त परम्परा नै बनिसकेको छ ।
नेपालका बैंक तथा वित्तीय संस्थाहरुले व्याजदर वृद्धि गरेका छन् । बैंकमा तरलता कम हुँदै गएपछि सर्वसाधारणको बचत आकर्षित गर्न बैंकहरुले व्याजदर वृद्धि गरेका हुन् । बैंकमा पैसा राख्नेलाई बढी व्याजदर दिएपछि बैंकहरुले लगानी गरेको ऋणको व्याजदर बढ्ने नै भयो । बैंकले ऋण लगानीको व्याजदर वृद्धि गरेपछि त्यसबाट आम व्यवसायी प्रभावित हुने नै भए । सोही कारण बैंकहरुले गरेको व्याजदर वृद्धिको बिरोधमा हेटौंडाका व्यवसायीहरु सडकमै उत्रिएका छन् । मकवानपुर उद्योग वाणिज्य संघको अगुवाइमा व्यवसायीहरुले शुक्रबार हेटौंडामा बिरोध प्रदर्शन गरेका हुन् । आर्थिक संकटको समयमा बैंकले व्याजदर वृद्धि गर्दा व्यवसायीहरु धराशायी भएको भन्दै बिरोध जनाइएको हो । व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर बिरोध प्रदर्शन गर्दै हेटौंडा बजार परिक्रमापछि जिल्ला प्रशासन कार्यालय मकवानपुरमार्फत् संघीय सरकारका अर्थमन्त्री तथा नेपाल राष्ट्र बैंकका गभर्नरलाई ज्ञापनपत्र बुझाएका छन् ।
विगतमा चाडपर्वको समयमा खाद्यवस्तु र चाडपर्वमा बढी माग हुने वस्तु तथा सेवामा मूल्यवृद्धि हुने गर्दथ्यो । यसवर्ष बजारका सबैजसो वस्तु एवम् सेवामा उच्च मूल्यवृद्धि भएको छ । दाल, चामल, चिनी, तेल, दूध, घ्यू, तरकारी, फलफूल आदि सबै प्रकारका दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको छ ।
दैनिक उपभोग्यमात्र नभई अन्य सबै वस्तुमा भएको मूल्यवृद्धिले आम उपभोक्ता मारमा परिरहेका छन् । उपभोक्ताले दैनिक उपभोग गर्ने वस्तुको मूल्यवृद्धि सबैले महसुस गर्ने भएका कारण यस्ता वस्तुको मूल्यवृद्धिको चर्चा बढी हुने गर्दछ । सबैले समानरुपमा खरिद नगर्ने अध्य वस्तुमा पनि मूल्यवृद्धि भइरहेको भए पनि यसलाई सबैले प्रत्यक्ष महसुस गर्दैनन् । तर, यसको असर उपभोग्य वस्तुको मूल्यमा पर्दछ । अप्रत्यक्षरुपमा अन्य वस्तुको मूल्यवृद्धिले उपभोग्य वस्तुको मूल्यवृद्धिमा भूमिका निर्वाह गरिरहेको हुन्छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गर्ने गरेको मुलुकको वित्तीय अवस्थासम्बन्धी तथ्यांकहरुले यस वर्ष मूल्यवृद्धि निकै बढेको बताइरहेको छ । आर्थिक वृद्धि न्यून हुनु र मूल्यवृद्धि दोब्बरभन्दा बढी हुनुले सबैजसो नेपाली मारमा परिरहेका छन् । मूल्यवृद्धिले सर्वसाधारणको दैनिकी चलाउन कठिनाइ भइरहेको छ भने बैंकको व्याजदर वृद्धिले व्यवसायीलाई व्यवसाय चलाउन गाह्रो भएको छ । मूल्यवृद्धि नियन्त्रणका लागि सरकार र नियमनकारी निकायले बैंकको व्याजदर घटाउन उचित कदम चाल्नु आवश्यक छ । कतिपय वस्तुमा बिचौलियाको मनोमानीले मूल्यवृद्धि भइरहेको हुनसक्ने भएकाले यसतर्फ नियमनकारी निकायले चासो राख्नुपर्छ । उत्पादक र उपभोक्ताबीच रहने मध्यस्थकर्ता (बिचौलिया) का कारण भइरहेको अस्वभाविक मूल्यवृद्धि नियन्त्रण गरेर बैंकको व्याजदर घटाउन सकेमा व्यवसायी र उपभोक्ता दुबैलाई राहत पुग्ने निश्चित छ ।










