गुगल तस्विर ।

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्र थाहा नगरपालिका–१२, दोभानखोलामा एक पुरुष व्यक्ति मृत अवस्थामा भेटिएको छ । त्रिभुवन राजमार्गको किनारान नाम, ठेगाना नखुलेका अन्दाजी ६५ बर्षीय पुरुष मृत अवस्थामा फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

स्थानीयका अनुसार मागेर खाने ती पुरुष मृत अवस्थामा फेला परेको खबर स्थानीय जनप्रतिनिधिबाट प्राप्त भएपछि घटनास्थलमा प्रहरी खटिएका थिए । आइतबार बिहान ७ बजेको समयमा प्रहरीले घटनाबारे जानकारी प्राप्त भएको जनाएको छ । शवलाई आइतबार दिउँसो पोष्टमार्टमका लागि काठमाडौंस्थित शिक्षण अस्पताल पठाइएको छ ।

देशलाई नै सडकमानवमुक्त घोषणा गर्ने तयारी नागरिकस्तरबाट भइरहेको र त्यसलाई सरकारले पनि सहयोग गरिरहेका बेला सडकमा मागेर खाने व्यक्ति मृत भेटिनु चुनौतिको विषय हो । सडकमा मागेर हिँड्नेहरुको विषयमा स्थानीय, प्रदेश, संघीय तीनै तहको सरकारले उद्दार, परिवारको पहिचान र परिवारमा पुनर्मिलनको कार्यमा ध्यान दिन सकेको छैन ।