हेटौंडाः विद्यालयमा कार्यरत कर्मचारीले आफ्नो आन्दोलनमा सहयोग गरिदिन विद्यालयका शिक्षक, प्रधानाध्यापक र व्यवस्थापन समितिलाई आग्रह गरेको छ । आफ्नो पेशागत हितका लागि आन्दोलनरत विद्यालय कर्मचारीहरुले आइतबारदेखि एक साता विद्यालय बन्दको घोषणा गरेका छन् ।
भदौ १ गतेदेखि काठमाडौं केन्द्रित आन्दोलन सुरु गरेको नेपाल विद्यालय कर्मचारी परिषद्ले अन्ततः विद्यालय नै बन्द गर्ने निर्णय गरेको हो । भदौ ४ गते कर्मचारी परिषद्को बैठकले भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालय बन्दको आव्हान गरेको थियो । विद्यालय बन्दको आव्हान गरे पनि कर्मचारीको मागको विषयमा सरकारले कुनै चासो देखाएको छैन । नेपाल विद्यँलय कर्मचारी परिषद् मकवानपुरका अध्यक्ष राजन प्रसाद अधिकारीले मकवानपुर जिल्लाका सबै विद्यालयका प्रधानाध्यापकलाई सम्बोधन गर्दै शनिबार एउटा पत्र लेखेर प्रधानाध्यापकलाई आन्दोलनमा सहयोग गरिदिन अनुरोध गर्नुभएको छ ।
बर्षौंदेखि चरम श्रम शोषण भइरहेको र श्रम शोषणको अन्त्यका लागि आन्दोलन गरिरहेको परिषद्को भनाइ छ । मकवानपुर जिल्लाका १० वटै पालिकाका विद्यालय बन्द गरी सहयोग गरिदिन परिषद्ले आग्रह गरेको छ । कर्मचारी परिषद्ले प्रधानाध्यापकलाई गरेको अनुरोधका विषयमा शिक्षा विकास तथा समन्वय इकाई मकवानपुर र १० वटै पालिकाका शैक्षिक प्रशासन महाशाखा तथा शाखालाई जानकारीका लागि अनुरोध गरेको छ । यस्तै नेपाल शिक्षक महासंघ, महासंघमा आवद्ध संघ, संगठनलाई आवश्यक सहयोग र सहजीकरणका लागि आग्रह गरिएको छ । शनिबार कर्मचारी परिषद् मकवानपुर जिल्ला समितिले शिक्षक महासंघ, संघ, संगठनका पदाधिकारीसँग छलफल समेत गरेको छ ।
शिक्षासम्बन्धी कानुनले विद्यालय तहमा लेखापाल र कार्यालय सहयोगीको रुपमा कर्मचारीको परिकल्पना गरे पनि उनीहरुको सेवा, सुविधामा भने कन्जुस्याई गरेको छ । मावि तहमा एकजना लेखापाल र एकजना कार्यालय सहयोगीको परिकल्पना गरेको छ भने निमावि र प्राथमिक तहको विद्यालयमा एकजना कार्यालय सहयोगीको मात्रै परिकल्पना गरेको छ । तर, उनीहरु दरबन्दीका कर्मचारी हुने व्यवस्था छैन । अहिले संघीय सरकारले लेखापाललाई मासिक १३ हजार ५ सय रुपैयाँ र कार्यालय सहयोगीलाई ८ हजार रुपैयाँ तलबको मात्रै व्यवस्था गरेको छ । संघीय सरकारले उपलब्ध गराएको तलब न्यून भएको ठहर गर्दै अहिले स्थानीय तहले लेखापाल र कार्यालय सहयोगीलाई समान ७/७ हजार रुपैयाँ मासिक उपलब्ध गराउँदै आएको छ ।
दरबन्दीको व्यवस्था नगरेका कारण विद्यालय कर्मचारीका लागि सम्मानजनक तलब, पेन्सन, उपदान लगायत थप सुविधा उपलब्ध गराउनुपर्ने, विद्यालयको आवश्यकताअनुसारको कर्मचारी उपलब्ध गराउनुपर्ने नेपाल विद्यालय कर्मचारी परिषद्को राष्ट्रिय समितिका सचिवालय सदस्य बालकृष्ण दाहाल बताउनुहुन्छ । १२ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा एकजना लेखापाल र एकजना कार्यालय सहयोगीले विद्यालयको नियमित काम सम्भव नभएको दाहालले स्पष्ट पार्नुभयो । अझ यत्तिको न्यूनतम् सुविधामा काम गर्न, गराउन सम्भव नभएको पनि दाहालको दावी छ ।
विद्यालय कर्मचारीको आन्दोलनमा कतिपय विद्यालयका प्रधानाध्यापकले समर्थन जनाएका छन् । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक बीरवंश बैठाले कर्मचारीको आन्दोलनप्रति समर्थन रहेको र उनीहरुको आन्दोलनलाई सहयोग गर्ने बताउनुभयो । पर्याप्त संख्यामा कर्मचारी नभए विद्यालय नियमित र व्यवस्थित रुपमा सञ्चालन गर्न सम्भव नभएको उल्लेख गर्नुहुँदै बैठाले भन्नुभयो, ‘कर्मचारीलाई उचित सेवा, सुविधा दिएर विद्यालयको शैक्षिक वातावरण तयार पार्न सरकार जिम्मेवार हुनुपर्छ । कर्मचारीको आन्दोलनमा शिक्षकले सहयोग गर्नुपर्छ । हाम्रो विद्यालयका शिक्षकले कर्मचारीको आन्दोलनलाई सहयोग गर्छ ।’
१२ कक्षासम्म पठनपाठन हुने आधुनिक राष्ट्रिय माविमा २ हजार ५ सय विद्यार्थी अध्ययनरत छन् । आधुनिक माविमा ८ जना कर्मचारी छन् । सरकारले एकजना लेखापाल र एकजना कार्यालय सहयोगीका लागि तलब उपलब्ध गराए पनि विद्यालयको निजी स्रोतबाट थप ३ जना कार्यालय सहयोगी, २ जना सफाई कर्मचारी र एकजना सुरक्षागार्ड नियुक्त गरेको प्रधानाध्यापक बैठा बताउनुहुन्छ ।