रोड पर्मिटको मागसहित उपमहानगरपालिका घेराउ गर्दै अटो/मयुरी व्यवसायी ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा अहिले संचालनमा रहेका सबै अटो/मयुरीलाई रोड पर्मिट दिनुपर्ने माग गर्दै अटो व्यवसायीहरुले हेटौंडा उपमहानगरपालिकाको कार्यालय घेराउ गरेका छन् । आज बुधबार उपमहानगरपालिका कार्यालय अगाडी अटो रोकेर अटो व्यवसायीहरुले कार्यालय घेराउ गरी रोड पर्मिटको माग गरेका हुन् ।

अहिले स्टीकर नटाँसेको अटो/मयुरी व्यवसायीहरुलाई ट्राफिक प्रहरीले अमानवीय व्यवहार गरिरहेको व्यवसायहरुले गुनासो गरेका छन् । लाइसेन्स, इजाजत पत्र र मकवानपुर जिल्ला भरि चल्ने पाउँने पर्मिट हुँदा पनि स्टीकर नटाँस्दा हैरानी खेप्नु परेको उनीहरुको भनाई छ । हेटौंडा उपमहानगरपालिका र अटो मयुरी व्यवसायी संघको सहमतिमा २०७६ पुस ६ गतेभन्दा अगाडी दर्ता र पर्मिट पाएका अटो मयुरीमा स्टीकर टाँस्दै आएको छ । स्टीकर टाँसिएका अटो/मयुरी मात्रै हेटौंडा उपमहानगरपालिका क्षेत्रमा चल्न पाउँनेछन् । यसअघि हेटौंडा उपमहानगरपालिकाले २०७६ पुस ६ गतेभन्दा पछाडीका अटो मयुरीलाई हेटौंडा बजारले थेग्न नसक्ने निर्णय गरेको थियो ।

उपमहानगरपालिका अगाडी अटो रोकेर कार्यालय घेराउ गर्दै ।

अटो व्यवसायी राजु रानाभाटले अहिले आफ्नो अटोमा स्टीकर नटाँस्दा हैरानी खेप्नु परेको बताउनुभयो । ट्राफिक प्रहरीले देख्ने वित्तिकै समातेर ५ हजार रुपैयाँ जरिवाना गर्ने र अटो व्यवसायीहरु लखेटिने काम भइरहेको रानाभाटले बताउनुभयो । रानाभाटले आफुसँग लाइसेन्स, इजाजतपत्र र मकवानपुर जिल्लामा चल्न पाउने पर्मिट हुँदा पनि स्टीकर टाँस नभएको उहाँले गुनासो गर्नुभयो । उहाँका अनुसार सबै कागजात पुरा भएका अटो व्यवसायीहरुले पर्मिट पाउनुपर्छ । यस्तै अर्का व्यवसायी इन्द्र बहादुर मोक्तानले अटोमा स्टीकर नटाँस्दा अनेकौं समस्या भोग्नु परेको बताउनुभयो । उहाँले हेटौंडा उपमहानगरपालिकाले २०७६ पुस ६ गतेपछि पनि अटो मयुरी बेच्न स्वीकृती दिएको तर, सबै कागजात भएका अटो/मयुरीलाई पर्मिट नदिएको औल्याउनुभयो । आफुहरुले पनि समयमै राजस्व तिर्ने गरेको र कागजात पुरा भएका सबै अटो मयुरी हेटौंडामा चल्न पाउनुपर्ने उहाँको भनाई छ ।

अर्का व्यवसायी नवराज ढङ्गनाले अटो व्यवसायी संघले स्टीकर टाँस्ने विषयमा उपमहानगरपालिकासँग मिलेमतो गरेर सोझा व्यवसायीहरुलाई धरासायी अवस्था पुर्याउन खोजेको आरोप लगाउनुभयो । यस विषयमा अटो व्यवसायी संघ र उपमहानगरपालिकाले चाँडोभन्दा चाँडो कुरा टुङ्ग्याउन उहाँले आग्रह गर्नुभयो । केही दिनमा स्टीकर टाँस्ने विषयमा सहमति नभए सबै अटो/मयुरी व्यवसायी मिलेर आन्दोलन गर्ने उहाँले चेतावनी दिनुभयो । करिब १ सय जना भन्दा बढी अटो व्यवसायीको उपस्थितिमा उपमहानगरपालिका कार्यालय घेराउ गरिएको थियो ।