हेटौंडा उपमहानगरपालिकाले जफत गरी राखेको नदिजन्य पदार्थ ।

हेटौंडाः प्रतिवन्धात्मक अवस्थामा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गरिरहेको अवस्थामा हेटौंडा उपमहानगरपालिकाले असार र साउन दुई महिनामा एक सय ७५ वटा सवारी साधन नियन्त्रणमा लिएको छ । हेटौंडा उपमहानगरपालिकाको राजश्व शाखाका अनुसार असारमा ९० वटा सवारी साधन र साउनमा ८५ वटा सवारी साधनले नदिजन्य पदार्थ चोरी निकासी गरेको अवस्थामा नियन्त्रणमा लिएको छ ।

राजश्व शाखाका अधिकृत दिपेन्द्र ढकालका अनुसार अनधिकृतरुपमा नदिजन्य पदार्थ ढुंगा, गिट्टी, बालुवा उत्खनन् गरी ढुवानी गर्ने ट्याक्टर र ट्रिपरलाई कारवाही गरिएको हो । उपमहानगरपालिकाले अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरी ढुवानी गर्ने ट्याक्टरलाई पहिलो पटक ५ हजार रुपैयाँ जरिवाना गरेर नदिजन्य पदार्थ जफत गर्ने गरिएको छ भने दोस्रो पटकमा १० हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ । यस्तै ट्रिपरलाई पहिलो पटकमा १० हजार रुपैयाँ र दोस्रो पटकदेखि २० हजार रुपैयाँका दरले जरिवाना गर्ने गरिएको छ ।

असार र साउन दुई महिनामा हेटौंडा उपमहानगरपालिकाले नदिजन्य पदार्थ चोरी निकासी गर्ने सवारी साधनबाट ९ लाख ५५ हजार रुपैयाँ राजश्व आम्दानी गरेको छ । असार, साउन र भदौ महिनामा नदिजन्य पदार्थ उत्खनन् गर्न रोक लगाउने गरिएको छ । हेटौंडा उपमहानगरपालिकाका राजश्व शाखाका प्रमुख श्याम कुमार श्रेष्ठका अनुसार अवैधरुपमा नदिजन्य पदार्थ उत्खनन् गरी निकासी गर्ने कार्य नियन्त्रण गर्न सुरक्षाकर्मीसहित सम्भावित क्षेत्रमा अनुगमन गर्ने गरिएको छ । दिउँसो मात्रै नभई रातीको समयमा समेत उपमहानगरपालिकाको राजश्व शाखाका अधिकारीको सहभागितामा अनुगमन हुने गरेको शाखा प्रमुख श्रेष्ठ बताउनुहुन्छ ।

चुरे क्षेत्रबाट बढीजसो नदिजन्य पदार्थ अवैधरुपमा उत्खनन् तथा चोरी निकासी हुने गरेको छ । चोरी निकासी हुँदै गरेको अवस्थामा बरामद नदिजन्य पदार्थलाई हेटौंडा उपमहानगरपालिकाले हेटौंडा–२ स्थित कृषि सामग्री संस्थानको खाली जमिनमा राखेको छ । राजश्व शाखाका अधिकृत दिपेन्द्र ढकालका अनुसार असोज लागेपछि नियन्त्रणमा लिइएका नदिजन्य पदार्थ लिलाम गरी आम्दानी हुने रकमलाई राजश्वमा दाखिला गरिनेछ ।