हेटौंडाः सञ्चालनको अनुमति नभई हेटौंडा उपमहानगर क्षेत्रमा सञ्चालनमा रहेका ७१ वटा अटो र मयुरीलाई ट्राफिक प्रहरी कार्यालय मकवानपुरले कारवाही गरेको छ । अनुमति बिना नै हेटौंडा नगर क्षेत्रमा हजारौंको संख्यामा अटो तथा मयुरीको चापले हेटौंडा बजारक्षेत्रको ट्राफिक व्यवस्थापनमा समस्या भएपछि हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, अटो तथा मयुरी व्यवसायीको संयुक्त प्रयासमा साउन २२ गतेदेखि स्वीकृति प्राप्त अटो र मयुरीमा स्टीकर टाँस्न सुरु गरिएको थियो ।
स्वीकृति नपाई हेटौंडा बजार क्षेत्रमा सञ्चालित अटो र मयुरीलाई ट्राफिक प्रहरीले एक पटकका लागि छाडिदिएको र बजार क्षेत्रमा नचलाउने सर्तमा छाडिएको ट्राफिक प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मंगलबारसम्ममा १ हजार ५८ वटा तीन पाङग्रे सवारी साधन अटो र मयुरीमा हेटौंडा बजारक्षेत्रमा सञ्चालन गर्न पाउने स्टिकर टाँस गरिएको ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सरोकारवाला पक्षबीचको समन्वय र ट्राफिक प्रहरी कार्यालयको सक्रियताले अटो तथा मयुरीको चाप नियन्त्रण भई अहिले हेटौंडा बजार क्षेत्रको ट्राफिक व्यवस्थापन सहज भएको छ । ट्राफिक व्यवस्थापनमा मकवानपुरका ट्राफिक प्रहरी प्रमुख मुनेन्द्र थापाको सक्रियता र जनशक्ति परिचालन प्रभावकारी देखिएको छ । ट्राफिक व्यवस्थापनकै लागि एकतर्फी पार्किङलाई पनि कडाईका साथ लागु गरिएको छ ।