प्रथम पुरस्कार लिँदै ऋतिक केबि ।

हेटौंडाः शनिबार लोककवि गणेशलाल श्रेष्ठको १११ औं जन्मजयन्तीको अवसरमा भएको विद्यालयस्तरीय कविता प्रतियोगितामा बालजागृति बोर्डिङ स्कूलका ऋत्विक केबी प्रथम हुनुभएको छ । प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने द्वितीय र हेटौंडा एकेडेमीकी बिबिका पराजुली तृतीय भएका छन् ।

यसैगरी नवोदय शिशु सदनकी अनुसा उप्रेती र वंशगोपाल माविकी अनुज्ञा सापकोटा सान्त्वना भएकी थिईन् । प्रथम, द्वितीय, तृतीय र सन्त्वना हुनेहरुलाई क्रमशः १० हजार रुपैयाँ, ५ हजार रुपैयाँ, ३ हजार रुपैयाँ र २/२ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिएको छ । प्रतियोगितामा वंशगोपाल मावि, बालजागृति बोर्डिङ स्कूल, आधुनिक राष्ट्रिय मावि, हेटौंडा एकेडेमी र जीएस निकेतन गरी ५ वटा विद्यालयबाट ९ जना प्रतियोगिहरुको सहभागिता रहेको थियो । साहित्यकारहरु अनिता न्यौपाने, मसान उपासक र संप्रस पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । यस्तै, कार्यक्रममा मकवानपुरका कवि तुल्सी थापालाई १० हजार रुपैयाँ नगदसहित सम्मानित गरिएको छ ।

नेपाल भाषा खलःले थापालाई सम्मानित गरेको हो । लोककवि गणेशलाल श्रेष्ठ स्मृति साहित्य पुरस्कार मकवानपुर र नेपाल भाषा खलःको आयोजनामा भएको उक्त कार्यक्रममा ५ जनालाई उक्त स्मृति पुरस्कार प्रदान गरेको छ । नेपाल भाषा खलःका अध्यक्ष महेश्वर श्रेष्ठको सभाध्यक्ष तथा कवि तुल्सी थापाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कवि थापाले साहित्यमा नयाँ पुस्तालाई जोड दिनुपर्ने बताउनुभएको छ । पुरस्कारको संस्थापक केशवलाल श्रेष्ठ हुनुहुन्छ ।