हेटौंडाः बागमती प्रदेश सरकारले विभिन्न विधामा प्रदेशको गौरव बढाउने काम गरेका व्यक्तिहरुलाई बिहीबार सम्मान गरेको छ । बागमती प्रदेश सरकारले प्रदेशस्तरमा विशिष्ट योगदान पुर्याएका २२ विधामा र प्रदेश सरकारको कार्यालयमा रहेर योगदान पुर्याएका कर्मचारीहरुलाई सम्मान गरेको हो ।
प्रदेशले सुरक्षा क्षेत्रमा “शान्तिमाला” पदक नेपाल प्रहरीका तीनजना, “प्रदेश रक्षक” पदक सशस्त्र प्रहरीका एकजना, “शान्तिदीप” मार्फत् नेपाली सेनाका एक जनालाई, शिक्षातर्फ “प्रदेश दीप” पदक ४ जनालाई, स्वास्थ्यतर्फ “मृत्युञ्जय” पदक २ जनालाई र खेलकूदतर्फ “प्रदेश शान” पदकसहित २ जनालाई सम्मान गरेको छ । त्यस्तै प्रदेश सरकारले कृषितर्फ “कृषि किरण” पदक दुईवटा कृषि फर्म, सहकारीतर्फ “सहकारी प्रवद्र्धन” पदकमार्फत् दुईवटा सहकारीलाई सम्मान गरेको हो । प्रदेश सरकारले, उद्योगतर्फ “उद्यमशीलता” पदक ३ जनालाई, पर्यटनतर्फ “प्रदेश द्रष्टा” पदक एक जनालाई, वातावरणतर्फ “वातावरण संरक्षण” पदक एक जनालाई, पूर्वाधार विकासतर्फ “विकास सेवी” पदक एकजनालाई, सूचना तथा सञ्चारतर्फ “प्रदेश दूत” पदक ३ जनालाई, विज्ञानतर्फ “अन्वेषण” पदक एक जनालाई, प्रविधितर्फ “नव प्रवर्तन” पदक २ जनालाई सम्मान गरेको हो ।
भाषातर्फ “सुभाषिक” पदक एक जनालाई, कलातर्फ “कलाकिर्ति” पदक ३ जनालाई, संस्कृतितर्फ “संस्कृतिदीप” पदक एक जनालाई , साहित्यतर्फ “प्रदेश स्रष्टा” पदक एक जनालाई, सार्वजनिक प्रशासन तथा सुशासनतर्फ “जनसेवा” पदक एक जनालाई, विपद् व्यवस्थापनतर्फ “विपदसेवी” पदक मार्फत दुई नगरपालिकालाई र समाज सेवा तथा लोककल्याणतर्फ “प्रदेश परोपकार” पदक ६ जनालाई सम्मान गरेको हो ।