जिल्लास्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुदमा सहभागी हुन आएकी एक विद्यार्थीलाई जनप्रतिनिधिले नै बलात्कार गरेको घटना सार्वजनिक भएको छ । विद्यार्थीहरु बसेको होटलमै पुगेर जनप्रतिनिधिले बलात्कार गरेको घटना सार्वजनिक भए पनि यस विषयमा स्थानीय प्रहरी प्रशासनले कारवाही अगाडि बढाएको पाइएको छैन । मकवानपुरको कैलाश गाउँपालिका–९ स्थित कालिका माविकी एक छात्रालाई जनप्रतिनिधिले बलात्कार गरेको भन्ने विषय समाचार बनेपछि सबैको चासो र चर्चाको विषय बनेको छ । विद्यार्थीको सर्वाङ्गीण विकासमा खेलकुदको क्रियाकलापलाई उपयोग गर्ने रणनीतिअनुसार सरकारले पालिका, जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको आयोजना गर्दै आएको छ । प्रतियोगितामा सहभागी हुने विद्यार्थीहरु आफ्नै आँगन हुँदै जिल्ला, प्रदेश र राष्ट्रियस्तरमा सहभागी हुने क्रममा घर, जिल्ला, प्रदेश छाड्दै राष्ट्रियस्तरमा सहभागी हुन जानुपर्छ ।

विद्यालय तहकै विद्यार्थीको सहभागितामा हुने प्रतियोगितामा सुरक्षाको विषयमा सबैभन्दा बढी महत्वको पाटो हो । अभिभावकको संरक्षण र निगरानीमा बसेका कलिला बालबालिकाको सुरक्षाको सुनिश्चितता नभएकै कारण विशेषगरी किशोरीहरुको खेलकुदमा सहभागिता न्यून छ । यस्तो पृष्ठभूमिमा जिल्ला सदरमुकाम आइपुगेकी छात्रालाई जनप्रतिनिधिले नै बलात्कार गरेको भन्ने घटनाले अभिभावकलाई थप सशंकित र चिन्तित तुल्याएको छ । जनप्रतिनिधि भनेको जनताको अभिभावक हुनुपर्ने हो । सक्षम नागरिकको अभिभावक हुनुपर्ने जनप्रतिनिधि अवोध किशोरकिशोरीको अझ बढी सशक्त अभिभावकत्व ग्रहण गर्न सक्ने हुनुपर्ने हो । बिडम्बना जनप्रतिनिधि नै रक्षक नभई भक्षक भएको घटना सार्वजनिक भएको छ ।

विद्यार्थीमाथि भएको जघन्य अपराधको विषयमा प्रहरीसँग सञ्चारकर्मीले जिज्ञासा राख्दा असाध्यै सहज तरिकाले जानकारी नआएको भन्ने प्रतिक्रिया प्राप्त भएको छ । प्रहरीले यस किसिमको अपराधको विषयमा सुन्नासाथ चिन्तित भएर घटनाको खोजी गर्ने, दोषीलाई कारवाही गर्ने र पीडितलाई न्याय दिलाएर कानुनी राज्यको अनुभूति गराउनुपर्ने हो । तर, प्रहरी प्रशासन उजुरी कुरेर बस्ने गरेको छ । अन्यायका घटना हुनु जति चिन्ताको विषय हो, अन्यायको घटनाप्रति अन्देखा गर्ने अवस्था अझ बढी चिन्ताको विषय हो । प्रहरी प्रशासनले शुक्रबार विद्यार्थीको उजुरीलाई दर्ता गराउन पनि आनाकानी गरिरहेको भन्ने बुझिएको छ । विद्यार्थीमाथि बलात्कार जस्तो जघन्य अपराधको घटनामा पनि प्रहरीले पीडितभन्दा पीडकको पक्षबाट बढी संवेदनशील भएको देख्दा राज्य व्यवस्थामाथि नै आशंका गर्नुपर्ने स्थिति छ ।

घटना भएको झण्डै एकसातापछि बाहिर होहल्ला भएपछि शनिबार जनप्रतिनिधि सम्वद्ध पार्टी नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ । कांग्रेस कैलाश गाउँ समितिले ध्यानाकर्षण पत्र सार्वजनिक गर्दै गर्दा वडा अध्यक्ष विद्यार्थीको कोठासम्म पुगेको साविती प्रस्तुत भएको छ । राती होटलमा पुगेको, राती त्यहीँ बसेको, विद्यार्थीहरु कराएको भन्ने जस्ता सावितीले वडा अध्यक्षको बदमासीलाई पुष्टि गर्न खोजिएको छ । यसर्थ यो घटनालाई प्रतिनिधि घटना मानेर स्थानीय प्रहरी, प्रशासनले दोषीलाई कारवाही र पीडितलाई न्याय दिलाउन जिम्मेवार भएर लाग्नु पर्छ । बलात्कार जस्तो जघन्य आरोप सित्तिमित्ति लाग्दैन, लगाउँदैन । कमजोरीलाई ढाकछोप गरेर अपराधीलाई संरक्षण गर्ने गल्ती कसैले गर्नुहुन्न । प्रहरी प्रशासनले यो विषयलाई गम्भीरताका साथ लिएर अगाडि बढोस् ।