एक महिलाको स्वास्थ्य परीक्षण गरिँदै ।

हेटौंडाः हेटौंडा–१७, हटिया जुरेथुममा निर्माणाधिन जगदगुरुत्तम मन्दिर अध्यात्म केन्द्र परिसरमा शनिबार निशुल्क स्वास्थ्य शिविर भएको छ । शिविरमा निशुल्क मधुमेह परीक्षण र जेनेरल फिजिसियनद्वारा स्वास्थ्य जाँच गरिएको थियो ।

गुरुपूर्णिमाको अवसरमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा चिरायु नेशनल हस्पिटल काठमाडौंका डा. नवीन थापा, डा. अभिलाषा राणा, डा. अमित श्रेष्ठ, एभरेष्ट हस्पिटल काठमाडौंका डा. प्रज्ञा कार्की, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानकी नर्स अस्मिता काफ्ले, फेवासिटी हस्पिटलकी फार्मेसिष्ट आस्मा भट्टराईको समूहले ६८ जना स्थानीयसहित साधकहरुको स्वास्थ्य जाँच गरिएको थियो । शिविरमा निःशुल्क औषधी पनि वितरण गरिएको थियो । श्री जगद्गुरुतम मन्दिर अध्यात्म केन्द्र र डिभाइन युथ क्लब नेपालको संयुक्त आयोजनामा शिविर भएको हो । शिविर श्री राधा माधव समिति नेपालका सदस्य किरण भण्डारीको सभाध्यक्षता तथा हेटौंडा १७ नम्बर वडा अध्यक्ष उद्धव सत्यालको प्रमुख आतिथ्यमा भएको हो ।

उद्घाटन कार्यक्रममा सहभागी अतिथिले आगामी दिनमा संस्थासँग जोडिएर सहकार्य र समन्वय गर्ने बताएका छन् । विगतका दिनहरुमा संस्थाले शिविरहरु संचालन गर्दै आएको छ । कोरोना महामारीको कारण २ वर्षसम्म रोकिएको मासिक स्वास्थ्य शिविर पुनःसंचालनमा आएको हो । विगतमा विभिन्न विधामा आयोजित शिविरमा विशेषज्ञ डाक्टरहरुद्वारा स्वास्थ्य जाँच गरिएको थियो । अब आउने महिनामा विशेषज्ञ डाक्टरहरुबाट हेटौंडाका स्थानीय बासिन्दालाई अझै लाभ पु¥याउने योजना रहेको जनाइएको छ ।

कार्यक्रममा अस्थायी प्रहरी पोष्ट हेटौंडा–१७ का प्रमुख मिनबहादुुर भट्टराई, जुरेथुम पर्यटकीय क्षेत्रका संस्थापक अध्यक्ष रमेश पौडेल, सानो गँगटे टोल विकास संस्थाका अध्यक्ष विवेक सुवेदी लगायतको आतिथ्य रहेको थियो ।