भनिन्छ नी मानिस बिनाको प्रकृति र प्रकृतिको बिनाको मानिस असम्भव हुन्छ । यही सन्दर्भलाई जोड्दै ऋतुको चर्काे घामको किरणले सबैतिर उराठ र उदास फैलाएको थियो । वन जङ्गलहरु सबै सुख्खा हुनुका साथै पातहरु सुकेर झर्छन् ।
माथि आकाशमा बसेर वर्षा सोच्छिन्, “म पृथ्वीमा नगएसम्म त्यहाँको पर्यावरणमा सुधार आउने छैन ।” त्यहाँ अर्काे समस्या थियो भन्दा मेघ र बिजुलीको विवाह नभएसम्म वर्षा पृथ्वीमा जान सक्दिन थिइन् । वर्षा आफ्नो छोरालाई फकाउन लाग्छिन् । वर्षा भन्छिन्, “बाबु, म पृथ्वीमा नगएसम्म त्यहाँ भएको उराठ र उदास घट्ने छैन ।” म बिनाको पृथ्वी, पृथ्वी हुने छैन । त्यहाँ भएको रुखोपन र खडेरीमा अन्न उब्जनी हुने छैन । सबैजना भोकले मर्ने छन् । त्यसैले छोरा तँ बिहे गर । मेघलाई मन पर्दैन र ऊ गङ्ङ गर्न थाल्छ । केही समयपछि ऊ राजी हुँदै ठुलो आवाजले गड्याङ् गुडुङ गर्न थाल्छ ।
पृथ्वीका सारा किसानको हर्षको सीमा हुँदैन । आमा र छोरा केही दिनपछि केटीको हात माग्न गएका हुन्छन् । उनीहरु विजुलीको घरमा हात माग्न जान्छन् । उनीहरुलाई विजुली मनपर्छ । उनीहरुले साइत जुराउने क्रम, असारे लगनमा सबै सहमति जुरेका कारणले उनी विहे गर्न तयार हुन्छन् । वर्षालाई उसको बुहारी मनपर्छ । विवाहको दिन विजुली धेरै खुशी हुन्छ । उसले इन्द्रेनीको जस्तो रङ्गीविरङ्गी कपडा लगाएर, कालो चुल्ठी जुनकिरी जडेको घुम्टो अनि छन्छन् बज्ने कल्ली त्यसमा पनि श्रृङ्गार गरेर दुलहालाई कुर्दै बस्छिन् । यता दुलहा हिमालको पगरी, दौरासुरुवाल लाएर झ्याली पिट्दै दुलहीको घरको नजिक जान्छन् । दुलहीले दुलहालाई कस्तो देखेको छ भन्दै पर्दा सार्दै, हेर्दै फेरि लुक्दै गर्छिन् ।
दुलहा दुलही मण्डपमा बस्छन् र पुरेतले विवाहको पद्दति शुरु गर्दै भन्छ, श्री गणेशाय नमः । पुरेतले हिन्दु धर्म अनुसार विवाह गर्छन् । जन्तीहरु वकुल्ला हुन्छन् । उनीहरु टन्न खाएर विवाहको मज्जा लिन्छ । छोरी न हो, आफ्नो मातृघर छोडेर जानैपर्छ । दुलही लिएर जाने बेलामा सलामी बाजा बज्दछ । ठुल्ठुला दानामा पृथ्वीमा पानी पर्छ, त्यो दुलही रोएको हो ।
विजुली मेघसँग घर जान्छे । पृथ्वीमा पानी पर्छ । त्यसैकारण त्यहाँ भएको उराठ र उदास हट्छ । जब वर्षा पृथ्वीमा जान्छे, त्यहाँ वन्यजन्तु, पशुपन्छी अनि हरिया पहाडहरुलाई पानीको आवश्यकता पूरा गर्दै सबको मनमा खुशी छर्छिन् । पानीको कारण अन्नहरु उब्जिन्छ र त्यो चाहिँ दुलहाले सबैलाई खुवाएको भोज हो ।
(बालजागृति इंग्लिस सेकेण्डरी स्कूल, कक्षा–९)











