सूचित र सचेत समाजका लागि अनिवार्य सर्त हो शिक्षा । हामी सामान्यतः औपचारिक शिक्षाका विषयमा बढी चासो र चर्चा गर्ने गरेका छौं । तर, अनौपचारिक शिक्षामा ध्यान पुग्न सकेको छैन । पुस्तकालय अनौपचारिक शिक्षाको एउटा महत्वपूर्ण मञ्च हो । पुस्तकालय सबै उमेर समूहको साझा अध्ययनस्थलको रुपमा स्थापित संस्था हो । वर्तमान सूचना प्रविधिको युगमा मुद्रित पुस्तकले भरिएको पुस्तकालय स्थापना र सञ्चालनको विषयलाई कतिपयले अस्वभाविक जस्तो मान्ने गरेका छन् । तर, मुद्रित पुस्तक पढ्नुजत्तिको प्रभावकारिता अन्य माध्यमबाट पढ्न सहज छैन ।
पुस्तकको प्रयोग, अध्ययन हाम्रो समाजको संस्कृति बन्न नसक्दा शिक्षित वर्गले पनि असाध्यै सरल शैलीमा पुस्तक पढ्न आवश्यक नै छैन भन्ने तर्क गरिरहेको पाइन्छ । औपचारिक शिक्षा हासिल गर्दै गरेका विद्यार्थीले पनि पाठ्यक्रमभन्दा बाहिरका पुस्तक पढ्नुपर्ने आवश्यकता महसुस गर्दैनन् । हाम्रा शिक्षकहरु आफैं पनि पुस्तक पढ्नु आवश्यक ठानेको देखिँदैन । जसले विद्यार्थीलाई पढ्न प्रेरित गर्न सकिरहेको छैन । पठन अभ्यासले व्यक्तिमा ज्ञानको दायरा बढाउँछ । नयाँ जानकारी प्राप्त गर्नुका साथै नयाँ योजनाको आधार पनि तयार पार्छ भन्ने तथ्यलाई बुझ्न सकेको छैन । मानव समाजलाई सुदूर भविष्यसम्म डोर्याउने ज्ञान आम समुदायमा पुग्नुपर्छ भन्ने बुझ्न सके दैनिक अध्ययनको आवश्यकतालाई बुझ्न कठिन हुने छैन ।
मकवानपुरको यस्तै कमजोर पठन संस्कृतिको अवस्थालाई महसुस गरेर हामीले पुस्तकालय अभियान सुरुवात गर्यौं । पुस्तकालय स्थापना र सञ्चालनको अभियानमा हामी नागरिकस्तरबाट केही प्रयत्न गर्दैछौं । हामी यो अभियान स्थानीय सरकारले नै सञ्चालन गरोस्, त्यसमा हामी हातेमालो गर्छौं भन्नेमा थियौं । तर, स्थानीय सरकारलाई पटक–पटक घच्घच्यायौं । नगर परिषद्मै हेटौंडा उपमहानगरका १९ वटै वडामा पुस्तकालय स्थापना गर्ने प्रस्ताव पारित गर्यौं । आर्थिक वर्ष २०७६/७७ को नीति, कार्यक्रम तथा बजेट पारित गर्ने नगर परिषद्बाट पारित पुस्तकालय स्थापनाको प्रस्ताव लागु हुन सकेन ।
हाम्रो प्रस्ताव नगर परिषद्को प्रस्तावको रुपमा मात्रै सीमित भयो । नागरिकलाई सोधेर नागरिकको आवश्यकता, चासो र मागका योजना कार्यान्वयन गर्नुपर्ने स्थानीय सरकारले नागरिकस्तरबाट प्रस्तावित योजना नगर परिषद्बाट पारित गर्नुमै सीमित हुनु हाम्रा लागि निक्कै दुखद् विषय बन्न पुग्यो । स्थानीय सरकारले यसरी पुस्तकालय स्थापनाको प्रस्ताव कार्यान्वयन नगर्ने स्थिति भएपछि हामी वैकल्पिक बाटोको खोजीमा थियौं । वैकल्पिक बाटोको खोजी गर्दै गर्दा एउटा जुक्ति फुर्यो ।
हामी चियागफमा भेट हुने केही साथीहरुबाट जनही ५ हजार रुपैयाँका दरले सहयोग संकलन गरी १० जनाबाट एउटा पुस्तकालय स्थापनाका लागि ५० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गर्ने रणनीतिबारे छलफल गर्यौं । यो प्रस्तावमा सबै साथीहरु सहमत भएपछि २०७८ साल जेठ २९ गते हेटौंडा–७, नागस्वतीमा पुस्तकालय स्थापना गर्ने निधो गर्यौं । नागस्वतीका जुझारु युवा समूहलाई हामीले ५० हजार रुपैयाँ बराबरको पुस्तक हस्तान्तरण गर्यौं । पुस्तक हस्तान्तरण तथा पुस्तकालय उद्घाटन कार्यक्रम अझ उत्साहजनक रह्यो ।
हामीले ५० हजार रुपैयाँ बराबरको पुस्तक सहयोग गर्दै गर्दा पुस्तक हस्तान्तरण तथा पुस्तकालय उद्घाटन कार्यक्रममा सहभागी स्थानीयले पुस्तकालयका लागि झण्डै ३ लाख रुपैयाँ बराबरको सहयोग घोषणा भयो । पुस्तकालय अभियान समूहलाई उर्जा प्रदान गर्ने अर्को एउटा पाटो पनि महत्वपूर्ण रह्यो । पहिलो पुस्तकालयका लागि सहयोग गर्ने १० जना सहयोगीको सूचिमा आफ्नो नाम नपरेको भन्दै गुनासो गर्ने साथीले हामीलाई छिट्टै नै दोस्रो पुस्तकालय स्थापनाका लागि अग्रसर हुन प्रेरित गर्यो । पहिलो पुस्तकालय स्थापना भएको दोस्रो सातामै असार १२ गते हेटौंडा–६, चौघडामा शान्ति पुस्तकालय स्थापना गर्यौं । पहिलो पुस्तकालय स्थापना गर्दा नाम छुटेर दुखी हुने साथीहरु र पहिलो पुस्तकालय स्थापनाको समाचार पढेर, सुनेर, हेरेर अभियानमा जोडिन चाहने सहयोगीको सूचि लामै भइसक्दा दोस्रो पुस्तकालयको रुपमा शान्ति पुस्तकालय स्थापना गर्ने क्रममा शान्ति पुस्तकालयका पदाधिकारीले नै हामी एउटा पुस्तकालयका लागि सहयोग गर्छौं भन्ने प्रतिवद्धता रह्यो । यसरी सहयोग दिन जाँदा सहयोग लिने नै दिन प्रेरित भएको हाम्रो अभियानले करिब ३ महिनाको अवधिमा १३ वटा पुस्तकालय स्थापना गर्न सफल भयौं ।
मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, बकैया, मकवानपुरगढी, भीमफेदी र मनहरी गाउँपालिकामा हामीले पुस्तकालय स्थापना गर्यौं । २०७८ साल भदौ १५ गते राष्ट्रिय पुस्तकालय दिवसको दिन हामीले एकसाथ ५ वटा पुस्तकालय स्थापना गर्यौं । पुस्तकालय स्थापनाको अभियान तीव्र गतिमा बढ्दै जाँदा बारा र रौतहतमा पनि हामीले एक/एक वटा पुस्तकालय स्थापना गर्न सफल भयौं । साउनको ३० गते बारा जिल्लाको निजगढ नगरपालिका–६ मा हामीले पाना पुस्तकालय स्थापना गर्यौं भने भदौको २२ गते हामीले रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–४ मा जनजागृति पुस्तकालय स्थापना गर्यौं ।
पुस्तकालय अभियानको सुरुवातदेखि नै हामीलाई अधिकांशले सोध्ने गर्थे, “अहिलेको अनलाइनको जमानामा पनि पुस्तकालयको के औचित्य ? मान्छेले पढ्नै छाडिसके । पुस्तकालय स्थापना त गरिएला । तर, के पुस्तकालय नियमित सञ्चालन हुन्छन् त ?” यस्ता प्रश्नको जवाफ हामीसँग हिजो पनि थिएन र आज पनि छैन । किन भने ती प्रश्नकर्ताले भने जस्तै हामीले स्थापना गरेका सबै पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन हुन सकेका छैनन् । हामीले मनहरीमा स्थापना गरेको मनहरी सार्वजनिक पुस्तकालय, भीमफेदीमा स्थापना गरेको ज्योति पुस्तकालय, हेटौंडा–१८ मा स्थापना गरेको दोभानचौर पुस्तकालय, मकवानपुरगढी–६ मा स्थापना गरेको हाम्रो पुस्तकालय, बकैया–४ मा स्थापना गरिएको बकैया सार्वजनिक पुस्तकालय, बकैया–७ मा स्थापना गरिएको हात्तिचरण पुस्तकालय, बारामा स्थापना गरिएको पाना पुस्तकालय र रौतहटमा स्थापना गरिएको जनजागृति पुस्तकालय सन्तोषजनक अवस्थामा चलिरहेका छन् । अन्य पुस्तकालयलाई पनि थोरै सहजीकरण भयो भने चल्न सक्ने स्थिति छ ।
आज पुस्तकालय स्थापनाको अभियान एक वर्ष पुग्दै गर्दा खुसीको कुरा के छ भने हिजो हामीलाई पुस्तकालयको औचित्यका बारेमा प्रश्न गर्ने जमात भन्दा पुस्तकालय स्थापना गर्नुपर्छ, पुस्तकालयका लागि सहयोग गर्छौ भन्ने जमात बढी छ । हिजो नगर परिषद्मा पारित भएर पनि पुस्तकालय स्थापना गर्ने कार्य हुन सकेको थिएन भने आज हालै सम्पन्न स्थानीय तहबाट निर्वाचित भई नगर परिषद्मा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुले निर्वाचनको समयमा पुस्तकालय स्थापना गर्ने एजेण्डालाई आफ्नो चुनावी एजेण्डा बनाउनु भएको छ । यसरी हेर्दा हामीले करिब तीन महिना गरेको मिहिनेतले पुस्तकालयको आवश्यकताको जागरण फैलाउन सक्यौं भने अब हामी पुस्तकालयको प्रयोग र प्रभावकारी व्यवस्थापनमा अग्रसर हुन सक्ने आशामा छौं ।
यसबीचमा केही साथीहरुले बोलेबमोजिमको सहयोेग रकम उपलब्ध गराउनु भएन । सहमतिका लागि प्रयास गर्ने साथीहरुले नै सहयोग रकम माग्न लाज मान्नुपर्ने अवस्था पनि छ । अर्कोतिर सहयोग गर्छौं भन्नेलाई हामीले तत्काल जोड्न सकिरहेका छैनौं । पुस्तकालयलाई ज्ञानको भण्डार र आम नागरिकको दैनिकीको एउटा पाटो बनाउन हामी अग्रसर छौं । पठन संस्कृतिको विकास गर्दै सभ्य र सचेत समाज, समुन्नत समाज, विकसित समाजको आधार एउटा सुन्दर पुस्तकालय बन्न सक्छ भन्ने तथ्य स्थापित गरेर हामी हाम्रो पुस्तकालय अभियानलाई सार्थक तुल्याउने छौं । हामीलाई विश्वास छ स्थानीय सरकारको जिम्मेवारीपूर्ण भूमिकाबाट आगामी वर्ष हामी पुस्तकालय अभियानका अझ सुन्दर सन्दर्भलाई व्याख्या गर्न पाउनेछौं ।