बल नियन्त्रणमा लिने प्रयास गर्दै नेपाल आर्मीका गोलरक्षक विकेश कुथु । तस्वीरः विनोद बानियाँ/समृद्ध समाज ।

हेटौंडाः हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति मकवानपुर गोल्डकपको चौथो संस्करण अन्तर्गत् सोमबार नेपाल आर्मीले नेपाल एपीएफलाई पेनाल्टीमा पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ । निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टीतर्फ उन्मुख भएको थियो । पेनाल्टीमा नेपाल आर्मीले ५–४ गोलअन्तरले एपीएफलाई पराजित गरेको हो ।

नेपाल आर्मीका लागि गोलरक्षक विकेश कुथुले एउटा पेनाल्टी उत्कृष्ट बचाउ गरेका थिए । विकेश कुथु म्यान अफ द म्याच घोषित हुँदै नगद १० हजार रुपैयाँ पाए । पहिलो हाफमा नेपाल आर्मीले ४० औं मिनेटमा पाएको पेनाल्टीको अवसरलाई एपीएफका गोलकिपर राजु नगरकोटीले बिफल बनाएका थिए । नेपाल आर्मीका विवेक बस्नेतको पेनाल्टी प्रहार एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरे । पहिलो हाफको सुरुवाती समय आर्मीले एपीएफलाई दवावमा राखेको थियो ।

दोस्रो हाफमा पेनाल्टीमार्फत नेपाल आर्मीले खेलमा अग्रता लियो । ७६ औं मिनेटमा आर्मीका लागि दिनेश हेम्जनले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको अतिरिक्त समयमा एपीएफका युवराज खड्काले गोल गर्दै बराबरी गरेपछि खेल पेनाल्टीमा पुगेको हो ।

भोलि मंगलबार मनाङ मस्र्याङ्दी र नेपाल पुलिस क्लबबीच खेल हुनेछ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौंडा–५ स्थित पिप्ले–क्याम्पा रंगशालामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख नगद पुरस्कार पाउनेछ । प्रतियोगिताको उपविजेताले १० लाख रुपैयाँ प्राप्त गर्नेछ । १२ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल जेठ ३० गते हुनेछ ।