–श्याम श्रेष्ठ
सन्दर्भः विश्व वातावरण दिवस
विश्वका अधिकांश राष्ट्रहरु विज्ञान तथा प्रविधिको प्रयोगले विकासको चरमोत्कर्षमा पुगिसकेको पनि धेरै शताब्दी भैसकेको थियो । आर्थिक समृद्धि, मानवीय सुख, सुविधा तथा मानवको कल्याणको निमित्त भौतिक विकास तथा आवश्यक आधारभुत आवश्यकता मात्र नभै बिलासिताको पूर्ण सुख प्राप्त गरिसकेको थियो । यही क्रममा विश्वका राष्ट्रहरु ब्रम्हाण्डमा महाशक्तिशालि बन्ने प्रतिस्पर्धामा विज्ञान तथा प्रविधिको अधिकतम प्रयोग प्रतिस्पर्धात्मक र अनियन्त्रित रुपमा गरिरहेको थियो । विश्व एउटा विज्ञानको नयाँ नयाँ आविष्कारको खुल्ला संग्रहालय जस्तो देखिन्थ्यो । अब ब्रम्हाण्डमा विज्ञानको नयाँ आविष्कारको अन्त्य भयो होला जस्तो लाग्दथ्यो, तर विज्ञान तथा प्रविधिको यात्रा अझ निरन्तर अन्तहिन गन्तव्यतर्फ फड्को मार्दै थियो । परिणामस्वरुप पृथ्बी नै गगनचुम्बी कंक्रिट भवनको शहर जस्तो देखिन्थ्यो ।
विश्व एउटा कार्बनडाइअक्साइड ग्यास उत्पादन गर्ने विशाल औद्योगिक क्षेत्र जस्तो देखिन्थ्यो । इन्धनयुक्त साना–ठुला विभिन्न किसिमका सवारी साधनहरुको भण्डार जस्तो देखिन्थ्यो । रासायनिक हातहतियार तथा स्वचालित हातहतियारको भण्डार जस्तो देखिन्थ्यो । विश्वमा जनसंख्या वृद्धिका कारण पृथ्बीमा मानव बर्षाकालमा वनमा च्याउ उम्रे झैं जताततै मानिस नै मानिसको भिड देखिन्थ्यो । पृथ्बीमा कृषियोग्य जमिनको अभावमा पृथ्बीमा मानवका लागि आवश्यक खाद्यान अन्न अभाव भैसकेको थियो । यिनै विभिन्न कारण पृथ्बीमा अत्यधिक कार्बन उत्सर्जन भै तापक्रम बृद्धिका कारण विश्वको सबभन्दा अग्लो हिमालको साथै विश्वका सबै हिमालहरु हिउँबिहिन नांगो ढुङाको पहाडको रुपमा परिवर्तन भैरहेको थियो ।
विश्वका ठुल–ठुला पहाडहरु बिस्तारै भु–स्खलन र भु–क्षयका कारण मरुभूमिमा परिणत हुँदै थियो । सानो ठुलो पानीको मुहानहरु कुवा, इनार, खोला–नाला, पोखरी, ताल, झरना, सबै सुकिसकेको थियो । समुन्द्र सुकेर ताल पोखरी जस्तो देखिएको थियो । शक्तिशाली देशहरु बीच पानीको विषयमा बाहेक अन्य विषयमा बिबाद तथा युद्ध हुन छोडिसकेको थियो । पानीको मुहानका लागि बेला बेला युद्ध हुने गर्दथ्यो । समुन्द्रले निलेको समुन्द्र छेउका कैयौ देशहरु फेरि अस्तित्वमा देखिएको थियो । समुन्द्र भित्र निर्माण भएका सहरहरु पानी सुकेको कारण ठुलो बंकर जस्तो देखिन्थ्यो । पृथ्बीमा कार्बन उत्सर्जन बृद्धिको कारण अक्सिजन ग्यासको अभाव भएको थियो । विकसित राष्ट्रहरुले आफ्ना कैयौं जनताहरुलाई अन्तरिक्षका साथै मंगल ग्रह,चन्द्र ग्रहका साथै अन्य ग्रहहरुमा बसाइ सारिसकेको थियो । विकसित राष्ट्रहरुले चन्द्र ग्रह, मंगल ग्रहका साथै अन्य ग्रहहरुमा अक्सिजन ग्यासको प्लान्ट खोलि पृथ्बीका सबै देशहरुमा भण्डारण गरी घर–घरमा पाइपलाइन बिछ्याई ग्यास बिक्री वितरणको व्यवस्था मिलाइएको थियो ।
मानिसहरु श्वास प्रश्वासका लागि पछाडि पिठ्युमा ग्यासको सिलिण्डर बोकेर नाकमुखमा अक्सिजनको पाइप जोडेर राख्दथ्यो । ब्रम्हाण्डमा जलचर र स्थलचरमा मानव बाहेक अन्य प्राणि लोप भैसकेको थियो । मानव जातिको प्राण पनि दिन प्रतिदिन संकटमा पर्दै थियो । खुल्ला अन्तरिक्ष क्षेत्रमा पनि विश्वको अधिकांश देशहरुले आआफ्नो यानहरु सुरक्षित राख्न आकाश पनि भूमि झैं बिभाजित गरिसकेको थियो । एकपटक चन्द्र ग्रहमा पानीको स्रोतको उपयोग बारेमा शक्तिशाली राष्ट्रहरु बीच बढेको बिबादको कारण धेरै लामो समय आकाश मार्गमा यानहरुको आवतजावत अबरुद्ध भै पृथ्बीको अन्य ग्रह तथा अन्तरिक्ष बीच व्यवसायिक कारोबारका साथै अन्य सम्बन्ध बिच्छेद हुन पुग्यो ।
पृथ्बीको अन्य ग्रह तथा अन्तरिक्ष बीच सम्बन्ध विच्छेद भएको एक शताब्दीपछि एउटा यान पृथ्बीमा अवतरण भयो । उक्त यानबाट अग्ला अग्ला मोटाघाटा केही मानवहरु एउटा ठूलो बन्द बाकस लिएर धरतीमा ओर्लियो । धर्तीमा ओर्लिने बितिकै सबैले धर्तीलाई शिर निहुराएर ढोगे । तिनिहरुले उभिएर शिर ठाडो गर्दै टाढा–टाढासम्म धरतीलाई नियाले । निस्तब्ध प्राणिबिहिन सुनसान धर्ती देखे । अनि सर्वश्रेष्ठ तथा शक्तिशाली मानवले निर्माण गरेको विकासको खण्डहर देखे । यत्रतत्र छरिएर रहेको सिलिण्डरहरु देखे । ती मध्ये एकले धर्तीको माटो हातमा उठाउँदै बोल्यो–मेरो पूर्बज मानवको आश्रयस्थल हो धर्ती माता । म मेरो पूर्बज मानवको सन्ततीको नाताले प्रकृतिको जुन संहार स्वयम् मानवले गर्यो त्यसका लागि म क्षमा याचना गर्दछु । हे मेरो पूर्बज मानव तिमीले समृद्धि र शक्तिशाली बन्ने आवेग र आवेशमा विज्ञान र प्रविधिको दुरुपयोग गर्यौ । शक्तिशाली बन्न कार्बन उत्सर्जनन बृद्धि गर्यौ । वातावरण संरक्षणको विश्वव्यापि नारालाई सिर्फ पाखण्ड ठान्यौ । प्रकृतिलाई निजि उपयोगको बस्तु ठानी प्रकृतिको विनास गर्यौ ।
विज्ञान र प्रविधिलाई कलंकित बनायौ । यो उजाड मरभूमिलाई म पुनः प्राणी बस्न योग्य धर्तीको रुपमा सिंगार्ने प्रण गर्दछु भन्दै उसले सँगै ल्याएको ठुलो बाकस खोल्यो । त्यहाँ थुप्रै साना वृक्षका बिरुवाहरु थिए । ती सबै बिरुवालाई खाल्डो खन्दै उसले वृक्षरोपण गर्यो । यहि क्रममा यत्रतत्र छरिएर रहेको सिलिण्डरलाई देखाउँदै एकले सोधे– “यो सिलिण्डर जताततै देखिन्छ, किन हो ?” उसको प्रश्न सुनेर पहिलोले जवाफ दियो– “पृथ्बीमा कार्बन ग्यास बढी उत्सर्जन भएकोले मानवलाई सास फेर्न अक्सिजन ग्यास धर्तीमा नभएकोले हामीले हाम्रो ग्रहबाट अक्सिजन पठाएका थियौं र यिनिहरु बाँचिरहेका थिए, जब आकाश मार्ग धेरै लामो समयअबरुद्ध भयो तब पृथ्बीमा भएको सबै मानवहरु अक्सिजन ग्यास नपाएर मरे । ति सबै मरेपछि लाश कुहिएर सकियो अनि यो सिलिण्डर मात्र देखिएको हो ।”
तिनीहरुको कुरा सुनेर मलाई हाँसो पनि उठिरहेको थियो, डर पनि लागिरहेको थियो । किनकी म तिनीहरुले देखाएकै सिलिण्डर मुनि थिचिएर मात्र बसेका थिएँ । एक मुठि श्वास साँचेर बाँचिरहेको थिएँ । तिनीहरुले वृक्षरोपण गरेको देखेर मलाई फेरि बाँच्ने आशा जागेर आयो । अहिले तिनीहरु वृक्ष लिएर अगाडि बढ्न लागेको देखेर मैले तिनीहरुलाई बोलाउँदै भने– “मलाई सास फेर्न गाह्रो भो । त्यो एउटा वृक्ष मेरो नजिक पनि रोपि देउ न ।” तर तिनीहरुले सुनेनन् । म फेरि चिच्याएर कराएँ– “म बाँच्न चाहन्छु, म बाँच्न चाहन्छु ।” आफु चिच्याएर कराएको आवाज सुनेर म आफै निन्द्राबाट ब्युझेँ । चारैतिर हेरेँ । ओछ्यानमा छटपटिरहेको रहेछु । हैट कस्तो डरलाग्दो सपना पो देखेछु ? यो बिहानी देखेको सपना सत्य हुन्छ भन्छन्, साँच्चिनै यो सपना यो धर्ती र प्राणि जगतको निमित्त सम्भाव्य दुर्घटनाको एउटा पूर्बसंकेत हुनु पर्दछ । यसैले यसको बचाउ र रोकथामको लागि आजैदेखि म वृक्षरोपण गर्दछु । तपाई नि ?