हेटौंडाः शैक्षिक सत्र २०७८ को विद्यालय शिक्षा परीक्षा (एसईई) को सामाजिक विषयको परीक्षामा नियमित तर्फ सबै विद्यार्थीले परीक्षा दिएका छन् । बुधबार भएको सामाजिक विषयको परीक्षामा आवेदन फारम भरेका सबै विद्यार्थीहरुले परीक्षा दिएका हुन् ।
परीक्षा फारम भर्ने ३ हजार ३ सय २५ जना छात्र र ३ हजार ६ सय १७ जना छात्रा गरी ६ हजार ९ सय ४२ जना परीक्षार्थी परीक्षामा सहभागी भएको मकवानपुरका सूूचना अधिकारी कृष्ण पौडेलले बताउनुभयो । यस्तै, ग्रेडवृद्धि तर्फ ५ जनाले परीक्षा दिएका छन् ।
अघिल्लो विज्ञान विषयको परीक्षामा भने २ सय २१ जना परीक्षार्थी अनुपस्थित भएका थिए । ९८ जना छात्र र एक सय २३ जना छात्रा अनुपस्थित भएका सूूचना अधिकारी पौडेलले बताउनुभयो । कोभिड–१९ महामारीका कारण पछिल्ला दुई वर्ष विद्यालयको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको एसईई शुक्रबारबाट देशभर सुरु भएको हो । मकवानपुरमा २४ वटा परीक्षा केन्द्रमा एसईई भईरहेको छ । भोली भने स्वास्थ्य जनसंख्या तथा वातावरण विषयको परीक्षा रहेको छ ।











