राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने एसईई परीक्षाको तयारी मकवानपुर जिल्लामा पूरा भएको छ । बोर्डले देशभर भोलि बैशाख ९ गतेबाट कक्षा–१० को एसईई परीक्षा लिँदैछ । परीक्षालाई सभ्य र सहज वातावरणमा सम्पन्न गराउन सम्पूर्ण तयारी पूरा भइसकेको शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको दावी छ । परीक्षामा मकवानपुरमा २४ वटा केन्द्रहरु तोकिएका छन् । तोकिएका केन्द्रहरुमा उत्तरपुस्तिका पुगिसकेको छ भने प्रश्नपत्रहरु पनि सुरक्षा निकायको जिम्मामा पुगिसकेको छ । मकवानपुर जिल्लाबाट यस बर्ष १ सय ३६ विद्यालयका ७ हजार १ सय ३८ जना परीक्षार्थी एसईईमा सहभागी हुनेछन् । जिल्लाका विभिन्न पालिकाका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई सकेसम्म पायक पर्ने गरी परीक्षा केन्द्र निर्धारण गरिएको दावी शिक्षा विकास तथा समन्वय इकाई मकवानपुरको छ ।

शिक्षा विकास तथा समन्वय इकाईको दावी जे भए पनि वास्तविकता फरक देखिएको छ । मकवानपुरको कैलाश र राक्सिराङ गाउँपालिकामा एउटा पनि परीक्षा केन्द्र छैन । त्यहाँका विद्यार्थीहरुले छिमेकी पालिकामा रहेका परीक्षा केन्द्रमा जानुको विकल्प छैन । विद्यार्थीहरुलाई पायक पर्ने ठाउँमा केन्द्र राखिएको दावी गरिए पनि दुर्गम पालिकाका रुपमा रहेका राक्सिराङ र कैलाशका विद्यार्थीहरुलाई अर्को पालिकासम्म पुग्नु कसरी पायक हुन सक्ला ? परीक्षामा सहभागी हुन पालिकाभन्दा बाहिरको विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्र धाउन बाध्य छन् । विद्यार्थी संख्या, सुरक्षा चुनौती, पूर्वाधारको अभावका कारण कैलाश र राक्सिराङ गाउँपालिकामा परीक्षा केन्द्र निर्धारण गर्न नसकिएको शिक्षा विकास तथा समन्वय इकाईको भनाइ जिम्मेवारीबाट भाग्ने उपायमात्र हो ।

परीक्षा सञ्चालन गर्ने निकायका लागि उपयुक्त स्थानको खोजी हुने गरेको छ । तर विद्यार्थीको अनुकूलतामा केन्द्रहरु तोकिनु पर्दछ । दुर्गम स्थानमा विद्यार्थीहरुको बसोबास र अध्ययन गर्नु बाध्यता हो । त्यस्ता स्थानमा राज्यका तर्फबाट सेवा सुविधा विस्तार गर्नु पर्दछ । आफूलाई पायक पर्ने स्थान नै सबैलाई उपयुक्त हुनु पर्दछ भन्ने मान्यतामा परिवर्तन आवश्यक छ । हुन त विगत केही बर्ष पहिलासम्म जिल्ला सदरमुकामका केही विद्यालयहरुमा मात्र केन्द्र राख्ने परम्पराबाट आज प्रत्येक पालिकाहरुमा केन्द्र पुगेको अवस्था छ । तर सबै विद्यार्थीहरुले समान रुपमा सुविधा पाउनु पर्दछ भन्ने मान्यता स्थापित हुनु पर्दछ । भौगोलिक विकटता, सुरक्षा प्रबन्धलगायत कारणले सहज ठाउँमा परीक्षा सञ्चालन हुने गरेको छ । यो मान्यता नै गलत छ ।

मकवानपुरका १० पालिकामध्ये एसईईको केन्द्र नहुने कैलाश र राक्सिराङ गाउँपालिकामात्रै हो । विद्यार्थीलाई असहज भएको भन्दै पालिकाभित्रै परीक्षा केन्द्र निर्धारण गर्न स्थानीय विद्यालयहरुले पहल गर्नु आवश्यक थियो । यस्तै स्थानीय जनप्रतिनिधिको पनि यसमा भूमिका हुन आवश्यक छ । माथिल्लो निकायहरुले आफूलाई सहज हुने ठाउँको खोजी गर्नु स्वभाविक हो । तर स्थानीयहरुले पहल गर्नेदेखि दवाव दिन सक्नुपर्ने थियो । यो बर्ष परीक्षा सञ्चालनको अन्तिम तयारी भइसकेको छ । अब केन्द्र परिवर्तन सम्भव नहुन सक्छ । तर आगामी बर्ष पनि यही परिस्थिति दोहोरिनु हुँदैन । यसका लागि शिक्षा विकास तथा समन्वय इकाई, स्थानीय जनप्रतिनिधि तथा विद्यालय व्यवस्थापन र अभिभावकहरु पनि सचेत र इमान्दार बन्न आवश्यक छ ।