प्रदेशको राजधानी भएपनि हेटौंडा विकासको सबै दृष्टिकोणबाट पछाडी नै छ । राज्य सँगको पहुँच नभएर हो वा यहाँका जनप्रतिनिधिको उपस्थिति फितलो भएर हो, थालिएका योजना समेत अलपत्र छन् । सडक मार्गले हेटौंडालाई केन्द्रमा राखेको भएपनि पूर्व–पश्चिम राजमार्ग बाहेक अन्य सडक कामचलाउ मात्र छन् । धरान–चतरा, कान्तिलोकपथ, त्रिभुवन, गणेशमान सिंह, मदन भण्डारी लगायतका अनेक सडकले हेटौंडा जोड्ने प्रयास भएका छन् तर योजनाहरु अपुरै छ । त्यति मात्र हैन कि स्वास्थ्य तथा शिक्षाका दृष्टिकोणबाट पनि हेटौंडा निकै पछाडी छ । प्रदेश राजधानी घोषणा हुँदै गर्दा विकासको गति नयाँ ढंगबाट बढ्ने आमनागरिकको अपेक्षा पनि पूरा हुने लक्षण छैन । अविकास हुनुमा स्थानीय व्यवसायीदेखि नागरिकको चिन्तन महत्वपूर्ण हुने गर्दछ ।
पूर्वाधारदेखि अन्य क्षेत्रको विकासका लागि आवश्यक तत्व हो । विकासको क्षेत्रमा योगदान दिन सक्ने मध्येको महत्वपूर्ण क्षेत्र होटल व्यवसाय पनि हो । हेटौंडामा होटल व्यवसायी अन्य जिल्लाको तुलनामा सवल हुनु पर्ने हो । मध्य भागमा पर्नेदेखि यातायातको सहजता तथा राजधानी पनि भएकाले सरकारी तथा गैरसरकारी क्षेत्रका सबै कार्यक्रमहरु हेटौंडामै हुने गर्दछन् । अझ तराई क्षेत्रमा गर्नु पर्ने कार्यक्रमको स्थल हेटौंडालाई नै बनाइने गरेको छ । यस्तै खेलकुदका गतिविधि पनि हेटौंडामा बढी नै हुँदै आएका छन् । जतिपनि मानिसहरु हेटौंडा आउँछन् उनीहरुको सिधा सम्पर्क होटल व्यवसायीसँग नै हुने गर्दछ । तर यहाँका होटल व्यवसायीहरुमा आतिथ्यभाव निकै कम भएको गुनासो हुँदै आएको छ ।

बागमती प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेलले होटल व्यवसायीले नै आयोजना गरेको कार्यक्रममै मकवानपुरका होटल व्यवसायीप्रति गुनासो गरेका छन् । होटल व्यवसायीले आयोजना गरेको कार्यक्रममा पर्यटन क्षेत्रको विकास गर्ने चिन्तन र योजना नै नभएको भन्दै गुनासो गर्नुभएको हो । यो गुनासो उहाँको मात्र होइन । विगत लामो समय सर्वसाधारणले समेत यस्तै महसुस गरेका छन् । आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्ने खास योजना होटल व्यवसायीले बनाउनु पर्ने हो । तर आएका अतिथिबाट रकम असुल गर्ने बाहेक उनीहरुसँग नयाँ योजना देखिएको छैन । पर्यटकीय क्षेत्रको पहिचान गर्ने, प्रवद्र्धन गर्ने, प्रचार गर्नेतर्फ मकवानपुरका होटल व्यवसायी अग्रसर हुन आवश्यक छ । तर जे जस्तो अवस्था छ त्यसबाटै मनग्य आम्दानी मात्र गर्ने उद्देश्य राखेपछि जिल्लाको समग्र विकास ओझेलमा पर्नु स्वभाविक हो ।

लोकसेवा आयोगका परीक्षादेखि अन्य कार्यक्रममा सहभागी हुनेहरुको दैनिक बढेको चापलाई हेटौंडाका होटलहरुले थेग्न मुस्किल हुँदै आएको छ । त्यही भएर जस्तोसुकै सेवा दिए पनि रकम भने पूर्ण सेवाकै लिने गरेको गुनासो छ । यसरी आम्दानीलाई मात्र केन्द्रमा राख्नेहरुले थप नयाँ कार्यक्रम र सेवा दिएर शुल्क लिने नयाँ कार्यक्रम बनाउने हो भने समग्र जिल्लाको विकासमा टेवा पुग्ने छ । व्यवसायीको अहिलेको मनस्थितिले उनीहरु मात्रलाई फाईदा हुने नागरिकमा त्यसको प्रभाव हुन सकेको छैन । नयाँ कार्यक्रम मार्फत रोजगारी श्रृजना गर्नेदेखि स्वरोजगारको अवसर समेत दिन सक्ने छ । यसतर्फ यहाँका होटल व्यवसायीले आफ्नो मात्र नभई समग्र नागरिकको हितका पक्षबाट सोच्नु आवश्यक छ ।