हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटासहित जिल्लाका ठूलो समूहले राप्रपा छाडेको घोषणा गरेका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत सापकोटाले आफूसहित पार्टीको वरिष्ठ उपाध्यक्ष, महिला उपाध्यक्षसहित पालिकाका अध्यक्ष, महिला संगठनको जिल्ला अध्यक्षसहित सदस्यहरु राप्रपा छाडेर कमल थापा नेतृत्वको राप्रपा नेपालमा समाहित हुने जनाएको छ । पछिल्लो समय पार्टीमा सैद्धान्तिक विचलन देखिएको, पूर्वाग्रही सोँच, चिन्तन तथा संकीर्णताबाट पार्टीलाई अगाडि बढाउन असम्भव देखिएको भन्दै पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

सापकोटाले राप्रपा छाडेर राप्रपा नेपालमा समाहित हुनेको तीन पृष्ठ लामो सूचि सार्वजनिक गर्नुभएको छ । राप्रपाका पूर्व केन्द्रीय सदस्य बालकृष्ण कार्की, वरिष्ठ उपाध्यक्ष्ँ खिलप्रसाद चौलागाई, महिला उपाध्यक्ष मन डिसि, सहसचिव रञ्जना बर्तौलासहित जिल्ला समिति सदस्यहरुको २७ सदस्यीय सूचि रहेको छ । यस्तै क्षेत्रीय अध्यक्षहरु रामबहादुर घले, बद्रि कुँवर, दामोदर वाग्ले र भीम बहादुर स्याङ्तान, हेटौंडा उपमहानगर समितिका अध्यक्ष प्रेमलाल श्रेष्ठ, थाहा नगर समितिका अध्यक्ष नवीन राईमाझी, बागमती गाउँपालिकाका अध्यक्ष दिलबहादुर बल, बकैया गाउँपालिकाका अध्यक्ष राजाराम अर्याल, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर बिडारी, भीमफेदी गाउँपालिकाका अध्यक्ष प्रमोदलाल श्रेष्ठ, ईन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष चन्द्रमान लामा, कैलाश गाउँपालिकाका अध्यक्ष वीरबहादुर नेगी, राक्सिराङ गाउँपालिकाका अध्यक्ष हस्तलाल प्रजाले पनि राप्रपा छाडेर राप्रपा नेपालमा समाहित भएको जनाएको छ ।

जनवर्गीय संगठनतर्फ युवा संगठनका जिल्ला अध्यक्ष शुक्रराज प्रजा, विद्यार्थी संगठनतर्फ लक्ष्मण पौडेल, महिला संगठन जिल्ला अध्यक्ष इन्दिरा पाठक बस्नेत, मुस्लिम संगठन जिल्ला अध्यक्ष तयस मिया अन्सारी, शिक्षक परिषद् जिल्ला अध्यक्ष प्रलाद बानियाँ, कल्पना कठायत, राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुर जिल्ला अध्यक्ष इन्दिरा पाठक, उपाध्यक्ष अमृता लामा, सचिव सरस्वती कुमारी थिङ, कोषाध्यक्ष शारदा सुवेदी, सहसचिव रजनी श्रीवास्तवसहित ३३ सदस्यीय समिति नै राप्रपा त्यागेर राप्रपा नेपालमा समाहित भएको छ ।