हेटौंडाः स्थायी शिक्षक नियुक्तिका लागि शिक्षक सेवा आयोगले लिएको परीक्षामा मकवानपुर जिल्लामा ५ सय १६ जना परीक्षार्थी अनुपस्थित भएका छन् । परीक्षामा सहभागी हुन फारम भरेका ३ हजार ८ सय १७ परीक्षार्थीमध्ये ३ हजार ३ सय १ जनाले परीक्षा दिएका छन् ।
बागमती प्रदेश सरकारअन्तर्गतको शिक्षा विकास निर्देशनालयको शिक्षक सेवा शाखाका अधिकृत टिकाप्रसाद गौतमका अनुसार हेटौंडा नगर क्षेत्रका ८ वटा विद्यालयमा १७ वटा केन्द्र निर्धारण गरेर परीक्षा लिइएको थियो । एक घण्टाको समयमा एक सय पूर्णाङ्कको बस्तुगत परीक्षामा सहभागी परीक्षार्थीले ५० अंक प्राप्त गरेर उत्तीर्ण हुँदा विषयगत प्रश्नको उत्तर दिनुपर्ने दोस्रो चरणको परीक्षामा सहभागी हुन पाउनेछन् ।
बागमती प्रदेशमा मकवानपुर र चितवनमा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । चितवनमा नेपाली र अंग्रेजी विषयमा ३ हजार ३ सय ७२ जनाले परीक्षा फारम भरेका थिए । चितवनमा परीक्षामा सहभागीको विवरण प्राप्त भइनसकेको गौतमले जानकारी दिनुभएको छ ।