हेटौंडाः आसन्न स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लामा म्यादी प्रहरीमा भर्ना हुन चाहने ३ हजार ७ सय ३७ जनाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा आवेदन दिएका छन् ।
गत आइतबारदेखि शुक्रबारसम्मका लागि आवेदन दिन आव्हान गरिएकोमा २ हजार ५ सय ९६ जना पुरुष तथा १ हजार १ सय ४१ जना महिलाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । स्थानीय तहको निर्वाचनका लागि मकवानपुर जिल्लामा १ हजार ३ सय २२ जना म्यादी प्रहरी आवश्यक पर्ने प्रहरी प्रवक्ता रिमालको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालयले चैत १३ गते सम्पर्क मिति तय गरेको छ भने चैत १५ गते शारीरिक तथा स्वास्थ्य परीक्षणको कार्य गरिनेछ । चैत २२ गते नतीजा सार्वजनिक गरेर चैत २८ गतेबाट तालिम सुरु हुनेछ । ४० दिन काम गर्ने म्यादी प्रहरीले तलब सुविधा ३० हजार २ सय ४० रुपैयाँ, रासन भत्ता ७ हजार २ सय रुपैयाँ, पोशाक भत्ता ६ हजार रुपैयाँ र निर्वाचनस्थलमा खटिन एक हजार रुपैयाँ यातायात खर्च पाउनेछन् ।