हेटौंडाः हेटौंडा—५ स्थित रहेको बालज्योति माध्यमिक विद्यालयलाई मास्क प्राप्त भएको छ । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय हेटौंडाले बुधबार एक कार्यक्रमबिच १४ हजार थान मास्क हस्तान्तरण गरेको हो । कोभिड—१९ संक्रमण रोकथामका लागि माक्स सुनिश्चितता कार्यक्रम अन्र्तगत पहिलो चरणमा विद्यालयलाई उक्त मास्क प्राप्त भएको हो ।
बालज्योति माविका प्रधानाध्यापक भारत अर्यालले कोरोना भाइरस रोकथामको पहिलो प्रयास मास्क रहेको बताउनुभयो । विद्यालयमा माक्सको अभाव सिर्जना हुने अवस्थामा नेपाल स्काउटले हस्तान्तरण गरिएको मास्कले राहत पुग्ने उल्लेख गर्नुभयो । विशेषगरी तल्लो तहका विद्यार्थीलाई उक्त माक्सको सदुपयोग गरिने उहाँले जानकारी दिनुभयो । नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमतीका सदस्य महेन्द्र रानामगर र अधिकृत शोभा लामिछानेले विद्यालयका प्रअलाई मास्क हस्तान्तरण गर्नुभएको हो ।
यसैगरी नेपाल स्काउट प्रदेश स्काउट कार्यालय बागमतीका सदस्य महेन्द्र रानामगरले दोस्रो चरण पनि मास्क सहयोग गरिने प्रतिबद्वता व्यक्त गर्नुभयो । कार्यक्रममा ५ नम्बर वडा सदस्य भागवती विक, विद्यालय व्यवस्थापन समितीकी शशि दाहाल, पूर्व अध्यक्ष सल्लाहकार रविन्द्र पोखरेल, सहायक प्रअ वर्दराज वाग्ले, नेपाल स्काउट नगर सदस्य अनिल आचार्य लगायतको उपस्थिती रहेको थियो ।