सञ्चारिका समूह नेपाल मकवानपुरले नारी दिवस मनाए पश्चात सामूहिक रुपमा क्लिक गरिएको तस्बिर ।

हेटौंडाः ११२ औं अन्तर्राष्ट्रिय महिला (नारी) दिवस मकवानपुरमा पनि विभिन्न संघसंस्थाले विविध कार्यक्रम गरी मनाएका छन् । मकवानपुरका दर्जनभन्दा बढी संघसंस्थाले विभिन्न कार्यक्रम आयोजना गरेर महिला दिवस मनाएका हुन् ।

दिवसको दिन मंगलबार सेनेटरी प्याड वितरणदेखि महिलाबीच खुला दौड प्रतियोगिता भएका छन् । सञ्चारिका समूह नेपाल मकवानपुरले महिला पत्रकारबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता तथा सेनेटरी प्याड वितरणको शुभारम्भ गरेको छ । नेपाल पत्रकार महासंघ मकवानपुरले पनि चियापन कार्यक्रम गरेको छ । खेलकुद नागरिकको मौलिक अधिकार, समृद्धिका लागि जनस्वास्थ्य सरोकार भन्दै नारी दिवसमा नेपाल खेलकुद महासंघ मकवानपुरले समानताको लागि दौड प्रतियोगिता गरेको छ । जसमा प्रथम अमृता मोक्तान, द्वितीय कृतिका तिमल्सिना र तृतीय लक्ष्मी थिङ भएकी छिन् ।

यसैगरी नेपाल स्काउटले पनि अन्तरक्रिया कार्यक्रम गरेको छ । राष्ट्रिय जनसरोकार मञ्च नेपालले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । ग्रामीण जागरण तथा विकास संगठन नेपालको आयोजनामा महिनाबारीमा हुने डर हटाउन ४ सीएसमा आधारित छलफल गरिएको छ । जेसीआई हेटौंडा लेडीले हेटौंडा अस्पतालको प्रसृतिगृहमा रहेका महिलालाई फलफूल वितरण गरेर महिला/नारी दिवस मनाएको छ ।

महिला दिवसको अवसरमा सञ्चारिका समूहले गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर मीनाकुमारीले लामाले नारीले नारीलाई साथ, सहयोग तथा हौसला प्रदान गरी सम्मान गर्नुपर्ने बताउनुभएको छ । समूहले आयोजना गरेको पत्रकार महिलाबीच मैत्रीपूर्ण फुटसल तथा सेनेटरी प्याड वितरण शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उपमेयर लामाले यस्तो बताउनुभएको हो ।

११२ औं अन्तर्राष्ट्रिय महिला दिवस ‘सामाजिक न्याय र लैगिंक समानताः दिगो विकासको सुनिश्चितता’ भन्ने मुल नाराका साथ मनाइरहँदा समाजमा अहिले पनि महिलाले महिलालाई नै घृणाको व्यवहार गर्ने गरिएको उहाँको भनाइ छ । समाजमा अब महिलाबीच नै युद्वको सामना गर्नुपर्ने अवस्था सिर्जना हुने उपमेयर लामाले बताउनुभयो ।

उपमहानगरभित्रका महिलालाई निःशुल्क सेनेटरी प्याड वितरण गर्ने प्रस्ताव गरेपनि उपमहानगरले हाँसोको पात्र बनाएको भन्दै लामाले मंगलबार सञ्चारिका समूह मकवानपुरले सुरुवात गरेको कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । कण्डम तथा पुरुषका लागि गर्भपतनका अस्थायी साधनहरु निःशुल्क वितरण भइरहँदा मासिकरुपमा महिलाले प्रयोग गर्ने सेनेटरी प्याड महंगो मूल्यमा किन्न बाध्य बनाइएको छ । महिलाहरुको नेतृत्व र सशक्तिकरणका लागि राजनीतिक दलहरुले नै अग्रसरता देखाउनुपर्ने उपमेयर लामाले बताउनुभयो । राजनीतिमा महिलाले नेतृत्व पाउन नसकेको भन्दै उहाँले संविधानमा नै व्यवस्था भएको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित नभएको दावी गर्नुभयो ।