हेटौंडाः हेटौंडा–११, नवलपुरमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा ठप्प भएको पठनपाठन नियमितरुपमा हुने भएको छ । मंगलबार नियमितरुपमा पठनपाठन हुुुनुपर्ने भन्दै विद्यार्थीले राजमार्ग अवरुद्ध गरेपछि शिक्षकले पढाउने सहमति गरेका हुन् ।

विद्यालयको तल्लो तहमा नियुक्ति लिएका शिक्षकले माथिल्लो तहमा नपढाउने भन्दै फागुन १ गतेबाट पठनपाठन रोकेका थिए । प्राथमिक तहका शिक्षकले निम्नमाध्यमिक तथा माध्यमिक तहमा पठनपाठन नगराउने अडान लिएका कारण कक्षा ११, १२ को पठनपाठन प्रभावित हुँदै आएको विद्यालयका प्रधानाध्यापक नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

विद्यार्थीले अन्दोलन गरेपछि चालु शैक्षिक सत्रका लागि मात्र प्रावि तहका शिक्षकले निमावि र मावि तहमा पढाउने सहमतिपश्चात् सबै तहका पठनपाठन नियमितरुपमा भएको उहाँले बताउनुभयो । पढाउने शिक्षक नभएपछि विद्यार्थीको पठनपाठनमा असर परेको भण्डारीको भनाई छ । विद्यालयमा विगत १० दिनदेखि पठनपाठन नियमित हुन नसकेको बताइएको छ ।