नेकपा एमालेको समीक्षामा सहभागी जनप्रतिनिधिहरु ।

हेटौंडाः २०७९ साल बैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको निर्वाचन लक्षित नेकपा एमाले मकवानपुरको सक्रियता बढेको छ । नेकपा एमाले मकवानपुरले मंगलबार जिल्ला पार्टी कार्यालयमा स्थानीय तहमा निर्वाचित प्रमुख, उपप्रमुख, वडा अध्यक्षको भेला गरेर समीक्षा गरेको छ ।

२०७४ सालको स्थानीय तहको निर्वाचनपछि जिल्लास्तरका जनप्रतिनिधिको भेला एवम् छलफल नै हुन नसकेको उल्लेख गर्नुहुँदै नेकपा एमाले मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठले निर्वाचन स्थानीय तहको निर्वाचन घोषणा भइसकेको सन्दर्भमा जनप्रतिनिधिहरुसँग छलफल गरिएको बताउनुभयो । जनप्रतिनिधिसँगको समीक्षा बैठकमा पालिकाले गरेको भौतिक, सामाजिक विकासमा के कस्ता काम भए भनेर छलफल भएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

‘जनप्रतिनिधिसँग घोषणापत्रअनुसार काम भयो, भएन भन्ने विषयमा छलफल गर्‍यौं’, अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘प्रदेश सरकारको नेतृत्व नेकपा एमालेले गर्दा जिल्लामा उल्लेखनीय काम हुन सकेको, नेकपा एमालेले नेतृत्व गरेको पालिकाका जनता जनप्रतिनिधिको कामबाट सन्तुष्ट रहेको भन्ने निश्कर्ष निकालेका छौं ।’ जनप्रतिनिधिसँग छलफलपछि एमालेले फागुन महिनाभर संगठन निर्माण, कार्यकर्ता परिचालन, आन्तरिक सांगठनिक काम गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

एमाले मकवानपुरले फारम नै दिएर जनप्रतिनिधिलाई कार्यकालमा भएका महत्वपूर्ण उपलब्धीको सूचि बनाउन भनेको छ । ५ वर्षमा उल्लेखनीय भौतिक विकास, सामाजिक, आर्थिक विकासका काम के भए ? घोषणापत्रमा उल्लेख भएका काम के कति भए ? कामका कठिनाई के के भए ? भन्ने विषयमा जनप्रतिनिधिले फारम नै भरेर एक साताभित्र पार्टीको जिल्ला कमिटीमा बुझाउन भनिएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो ।

वैठकमा आगामी निर्वाचनमा पार्टीको नारा के हुने ? निर्वाचनमा विजयी हुन के कस्ता रणनीति अपनाउनु पर्ने ? भन्ने विषयमा पनि जनप्रतिनिधिलाई तयारी गर्न भनिएको छ । वडा, पालिका र जिल्लाले समग्रमा श्वेतपत्र जारी गर्ने राणनीति रहेको पनि अध्यक्ष उप्रेतीले बताउनुुभयो । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले आफ्नो पालिकाको श्वेतपत्र नै बनाउने बताउनुभयो । आफूहरु निर्वाचित भएर आएपछि खानेपानी, बाटो, कृषि, आर्थिकलगायत समग्र पक्षको वस्तुस्थिति बुझाउने गरी श्वेतपत्र जारी गर्ने अध्यक्ष उप्रेतीको भनाइ छ ।

समीक्षामा केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज रामेश्वर राना, प्रदेश कमिटी सदस्य अनन्तप्रसाद पौडेल, बलराम बल, संविधान सभा सदस्य दिलबहादुर घिसिङको पनि उपस्थिति रहेको थियो । मंगलबारको समीक्षामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुर हुमागाई, उपाध्यक्ष हर्कमाया, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती राना, कैलाश गाउँपालिकाकी कार्यवाहक अध्यक्ष सुकुमाया थिङ, ईन्द्रसरोवर गाउँपालिकाकी उपाध्यक्ष उमा लामा, बागमती गाउँपालिकाकी उपाध्यक्ष धनमाया स्याङ्तान, बकैया गाउँपालिकाकी उपाध्यक्ष सरला बोलखेको सहभागिता रहेको थियो । यस्तै समीक्षा बैठकमा वडा अध्यक्षहरु समेत उपस्थिति रहेको थियो ।