हेटौंडाः चालु आर्थिक वर्ष २०७८/७९ मा रक्तसञ्चार केन्द्र हेटौंडाले १ हजार ७ सय ७० युनिट रगत संकलन गरेको छ । रक्तसञ्चार केन्द्र हेटौंडाले मुख्यतः जिल्लाभित्रका विभिन्न संघ, संस्थाले आयोजना गर्ने रक्तदान कार्यक्रमबाट रगत संकलन गर्ने गरेको छ । चालु आर्थिक वर्षमा विभिन्न संघ, संस्थाको आयोजनामा ४५ वटा रक्तदानका कार्यक्रम भएका छन् ।
रक्तसञ्चार केन्द्र हेटौंडामा व्यक्तिगत रुपमा पनि रक्तदाताले रक्तदान गर्ने गरेका छन् । रक्त सञ्चार केन्द्र हेटौंडाका प्र्राविधिक किशोर सापकोटाकाअनुसार संकलित रगत हेटौंडामै खपत हुने गरेको छ । हेटौंडा अस्पताल र चुरेहिल अस्पतालमा डायलासिस सेवा सुरु भएसँगै हेटौंडामा रगतको खपत बढेको हो । डायलासिस सेवा सञ्चालनमा आउनुभन्दा अगाडि हेटौंडामा संकलित रगत छिमेकी जिल्ला चितवनमा पठाइने गरिन्थ्यो ।