हेटौंडाः मकवानपुर जिल्ला बक्सिङ संघलाई खेलकुद सामग्री सहयोग गरिएको छ । हेटौंडा उपमहानगरपालिका कार्यालय, १४ नम्बर वडाका अध्यक्ष दीपक खड्का र बक्सिङ खेलका पूर्व प्रशिक्षक ध्रुवलाल श्रेष्ठले बक्सिङ संघलाई करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ६८ वटा म्याट सहयोग गरेको हो ।

वडा अध्यक्ष दीपक खड्काले आइतबार हेटौंडा–४ स्थित कभर्डहलमा बक्सिङ संघका अध्यक्ष दिपेश जोशीलाई म्याट हस्तान्तरण गर्नुभएको हो । वडाध्यक्ष दीपक खड्काले ८० हजार रुपैयाँको ३६ वटा म्याट सहयोग गर्नुभएको हो भने पुर्व प्रशिक्षक धु्रवलाल श्रेष्ठले ४० हजार रुपैयाँको २० वटा म्याट र हेटौंडा उपमहानगरपालिकाले ३० हजार रुपैयाँको १२ वटा म्याट सहयोग गरेको हो ।

सहयोेगीप्रति आभार व्यक्त गर्नुहुँदै मकवानपुर जिल्ला बक्सिङ संघका अध्यक्ष दिपेश जोशीले म्याट प्राप्त भएपछि खेलाडीले सुरक्षित भएर अभ्यास गर्न पाउने र प्रतियोगिता आयोजना गर्न पनि सहज हुने बताउनुभयो ।

म्याट हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख खुशराज दाहाल, जिल्ला बक्सिङ संघका द्वितीय उपाध्यक्ष सुशील घिमिरे, सचिव भाजु श्रेष्ठ, युनिक बक्सिङ क्बलका अध्यक्ष गोकुल मोक्तान, प्रशिक्षक लालबहादुर पौडेल लगायतको उपस्थिति रहेको थियो । हेटौंडा–४ स्थित कभर्डहलमा दैनिकरुपमा १० जना खेलाडी नियमित प्रशिक्षणमा आउने गरेको प्रशिक्षक लालबहादुर पौडेलले जानकारी दिनुभएको छ ।