हेटौंडाः फागुन १ गतेदेखि भौतिकरुपमा विद्यार्थीलाई उपस्थित गराएर विद्यालयमा पठनपाठन सुचारु गर्ने तयारीस्वरुप हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालयका प्रधानाध्यापकहरुको बैठक शुक्रबार भएको छ । बैठकमा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले कोरोनाविरुद्धको खोप लगाएकाले उनीहरुको नियमित कक्षा सञ्चालन हुने र कक्षा ५ देखि आलोपालो गरेर सञ्चालन हुने निर्णय भएको छ ।
स्वस्थ्यका मापदण्ड अपनाएर नियमित कक्षा सञ्चालन गर्ने नवोदय शिशु सदनका सञ्चालक पुरनबहादुर जोशीले बताउनुभयो । १/२ दिन कक्षा ५ देखि आलोपालो गरेर सञ्चालन गर्ने अनि नियमित विद्यालय सञ्चालन गर्ने तुल्सीमेहर मेमोरियल विद्यालयका प्रधानाध्यापक रघुनाथ खरालले बताउनुभयो । अहिलेको एसईई र आधारभूत तहको परीक्षाको केन्द्र फरक विद्यालयमा निर्धारण गर्नुपर्ने वंशगोपाल माविका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले सुझाव दिनुभएको छ ।
यसैबीच मकवानपुर जिल्लामा ८ कक्षाको परीक्षा बैशाख ९ गतेबाट सञ्चालन गर्ने निर्णय भएको छ । एसईई पनि बैशाख ९ गतेबाटै सुरु हुनेछ । राष्ट्रिय परीक्षा बोर्डले एसईई बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ भने ८ कक्षाको परीक्षा दिउँसो १ बजेदेखि ४ बजेसम्म सञ्चालन गर्ने प्रधानाध्यापकहरुको बैठकले निर्णय गरेको छ ।
यस्तै ईसीडी कक्षादेखि ९ कक्षासम्मको परीक्षा चैत २५ गतेपछि सञ्चालन गर्ने र विद्यालय तहका सबै परीक्षाहरु स्थानीय चुनाव अगाडि सकाउने निर्णय भएको छ । एकीकृत विद्यालय शैक्षिक सूचना व्यवस्थापन प्रणाली (ईमीस)मा अपडेट नभएका विद्यालयहरु खारेज गर्ने भएकाले ईमीसमा अपडेट गराउन हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखा प्रमुख गंगाधर रिमालले बताउनुभयो । ईमीस नभरेका विद्यालयहरुका कारण ईमीस भरेकाको अनुदान पठाउन समस्या हुने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत सुनिता महर्जनले बताउनुभयो ।