हेटौंडाः मकवानपुर प्रहरीले ट्राफिक नियम उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरेको छ । शुक्रबार मकवानपुरका विभिन्न स्थानबाट ट्राफिक नियम उल्लंघन गर्ने ८२ वटा सवारी साधनलाई कारवाही गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र मातहत कार्यालयसमेतबाट खटिएको प्रहरी चेकिङ टोलीले बकैया–३, मकवानपुरगढी–४, भीमफेदी १ र ५, राक्सिराङ–५, थाहा–१, हेटौडा–८ र ११, मनहरी–७ लगायतका स्थानमा गरेको सुरक्षाजाँच गर्दा नियम उल्लंघन गरेको पाइएपछि कारबाही गरेको जनाइएको छ ।

कारबाहीमा पर्नेमा टिपर, अटो र मोटरसाइकललगायतका साधन रहेको जनाइएको छ । कारबाहीमा परेको सवारी साधनहरुलाई ट्राफिक नियमअनुसार कारबाही हुने प्रहरी प्रवक्ता रिमालले जानकारी दिनुभयो ।