पत्रकार सम्मेलनमा बोल्नुहुँदै नेकपा एमालेका नेता महेश बस्नेत ।

हेटौंडाः संघीय सरकारका स्वास्थ्यमन्त्री बिरोध खतिवडा आफ्नो मन्त्रालयको कामभन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गाली गर्न व्यस्त भएको नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले आरोप लगाउनुभएको छ । बिहिबार प्रेस चौतारी मकवानपुरले हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै पूर्व उद्योगमन्त्री बस्नेतले स्वास्थ्यमन्त्री खतिवडाले मन्त्रालयको काम नै छाडेर बिहानदेखि बेलुकासम्म केपी ओलीको मात्र बिरोधको भजन गाउन व्यस्त भएको बताउनुभयो ।

एमाले नेतृत्वको सरकारले ल्याएको खोपमध्ये २४ लाख डोज कोरोनाको खोप हराउँदा पनि सामान्य प्राविधिक समस्या भन्दै जवाफ दिनु मन्त्री खतिवडाको गैरजिम्मेवारीपूर्ण कार्य भएको बस्नेतले बताउनुभएको छ । कोरोनाको महामारीमा एमाले नेतृत्वको सरकार हुँदा ओम्नी समुहले स्वास्थ्य सामग्री ल्याउँदा भ्रष्टाचार भयो भन्दै कुर्लिने कांग्रेसका युवा नेता आज २४ लाख डोज खोप हराउँदा र जनताले सिटामोल खान नपाउँदा किन चुप लागेर बसेका छन् भन्दै उहाँले प्रश्न गर्नुभएको छ ।

कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेल, नेकपा एमाले बागमती प्रदेशका उपसचिव महेश बर्तौलालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।