हेटौंडाः राष्ट्रियसभा सदस्यको निर्वाचनअन्तर्गत् बुधबार बागमती प्रदेशमा सम्पन्न मतदानमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धनबाट राष्ट्रियसभा सदस्यमा महिलातर्फ नेकपा (एकीकृत समाजवादी) की गोमादेवी तिमल्सिना र अन्यमा नेपाली कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी हुनुभएको हो ।
महिला सदस्यमा तिमल्सिनाले कुल ४ हजार ८ सय २४ मतभार प्राप्त गर्नुभएको छ भने अन्य सदस्यमा पौडेलले कुल ४ हजार ७ सय ९४ मतभार प्राप्त गर्नुभएको छ । उहाँहरुले निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका महिला सदस्यका उम्मेदवार निरुकुमारी कुँवरलाई र अन्य सदस्यका उम्मेदवार गोपाल शाक्यलाई क्रमशः ४ सय ६३ र ४ सय ५० मतभारले पराजित गर्नुभएका हुन् । महिला सदस्यमा पराजित कु“वरले कुल ४ हजार ३ सय ६२ मतभार प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट महिला सदस्यकै उम्मेदवार गीता काफ्लेले १ सय ३२ मतभार प्राप्त गर्नुभएको थियो । यस्तै अन्य सदस्यमा पराजित शाक्यले ४ हजार ३ सय ४४ मतभार प्राप्त गर्नुभएको छ भने नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले १ सय ३२ मतभार प्राप्त गर्नुभएको थियो ।
२ जना राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचानमा बागमती प्रदेशका १ सय ९ जना प्रदेशसभा सदस्यहरुमध्ये १ सय ६ जनाले मात्र मतदान गर्नुभएको थियो । चुनावमा विवेकशील साझा पार्टीका ३ प्रदेशसभा सदस्यले मतदान गरेनन् । यस्तै ११९ स्थानीय तहका २३७ जना प्रमुख तथा उपप्रमुखहरुले मतदान गर्नुभएको थियो । मतदानबाट महिला सदस्यमा निर्वाचित गोमादेवी तिमल्सिनाले प्रदेशसभाबाट ५७ जनाको मत र स्थानीय तहबाट १ सय १६ जनाको मत प्राप्त गर्नुभएको थियो । पराजित एमालेकी निरुकुमारी कुँवरले प्रदेशसभा सदस्यहरुबाट ४७ जनाको मत र स्थानीय तहबाट १ सय १७ जनाको मत प्राप्त गर्नुभएको थियो । नेमकिपाकी गीता काफ्लेले भने प्रदेशसभा र स्थानीय तहबाट २÷२ जनाको मत प्राप्त गर्नुभएको थियो । स्थानीय तहमा महिला सदस्यतर्फको २ जनाको मत भने बदर भएको थियो ।
यस्तै, अन्य सदस्यमा निर्वाचित कृष्णप्रसाद पौडेलले प्रदेशसभाबाट ५६ जनाको मत र स्थानीय तहबाट १ सय १७ जनाको मत प्राप्त गर्नुभएको थियो । पराजित एमालेका गोपाल शाक्यले प्रदेशसभाबाट ४७ जनाको मत र स्थानीय तहबाट १ सय १६ जनाको मत प्राप्त गर्नुभएको थियो । नेमकिपाका कृष्णबहादुर तामाङले प्रदेशसभाबाट र स्थानीय तहबाट २÷२ जनाको मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा अन्य सदस्य पदमा खसेको मतमध्ये प्रदेशसभामा १ जनाको मत र स्थानीय तहमा २ जनाको मत बदर भएको थियो । निर्वाचनमा प्रदेशसभा सदस्यहरुको मतभार ४८ र स्थानीय तह प्रमुख तथा उपप्रमुखहरुको मतभार १८ रहेको थियो ।
बिहान ९ बजेबाट हेटौंडा औद्योगिक क्षेत्रमा सुरु भएको बागमती प्रदेशअन्तर्गत्को मतदान कार्यक्रममा प्रदेशसभा सदस्यतर्फ जीवन खड्का र स्थानीय तहतर्फ निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुङ्गानाले सर्वप्रथम मतदान गर्नुभएको थियो । ३ बजेसम्म भएको मतदान कार्यक्रमपछि ४ बजेबाट मतगणना सुरु गरी बुधबार साँझ नै अन्तिम नतिजा सार्वजनिक गरिएको थियो ।