हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडाको सार्वजनिक क्षेत्रमा अनिवार्य मास्क लागू भएको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुरले सार्वजनिक क्षेत्रमा अनिवार्य मास्क अभियान सुरु गरेको भए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन नसकेको हो ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले कोरोनाको ओमिक्रोन भेरियन्ट संक्रमणको दर बढेसँगै सार्वजनिक क्षेत्रमा एक हप्ता अघिमात्र पर्चासहित मास्क अभियानलाई तिव्रता दिएको थियो । तर, हेटौंडा—१० स्थित बसपार्क क्षेत्रमा सवारी साधनमा यात्रा गर्ने तथा हिँडडुल गर्ने सर्वसाधारणले मास्क अभियानलाई अटेर गर्दै आएका छन् ।
महामारीविरुद्व नागरिक स्वयम् जिम्मेवार बन्न नसक्दा दुई वर्षदेखि कोरोना संक्रमणलाई आम नागरिकले झेल्दै आइरहेका छन् । जसले गर्दा दुःखदायी र कष्टपूर्ण जीवन बिताउनु परेको छ । कोरोना संक्रमणलाई मध्यनजर गर्दै माघ ७ गतेदेखि सार्वजनिक क्षेत्र तथा कार्यालयमा प्रवेश गर्दा अनिवार्य मास्कमात्र नभई खोप कार्डसमेत लागू गरिएको अवस्था छ । नीति तथा नियम लागू गराउने उद्घोष गरे पनि कार्यान्वयन भने फितलो देखिएको छ । प्रशासनको नीति तथा नियम कार्यान्वयनमा केही नागरिकले अटेर गरेको अवस्था छ ।
मास्क लगाउन अटेर गर्ने नागरिकलाई जरिवाना गर्नसमेत सुरु भएको छ । मास्क नलगाउनेलाई एक सय रुपैयाँ जरिवाना गरिए पनि मास्क नलगाई हिँडडुल गर्नेहरु प्रशस्तै भेटिने गरेको पाइन्छ । मास्क नलगाउनेलाई जरिवाना गर्दै आइरहेको प्रशासनले किन मास्क तथा खोप कार्ड अनिवार्य लागू भएन भन्नेतर्फ प्रभावकारी कार्य गर्नु जरुरी छ ।
कोरोना केही होइन भन्दै परीक्षणमा समेत हेलचेक्र्याइँ गर्नेहरु रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत भोला चौलागाईंले बताउनुभयो । गाउँगाउँ/टोलटोल हुँदै घरघरमा अहिले ओमिक्रोन भेरियन्ट संक्रमण तिव्ररुपमा फैलिइरहेको छ । तर पनि मानिस आफ्नो स्वाथ्यप्रति गम्भीर बन्न सकेको अवस्था छैन । प्रशासन र तीनै तहको सरकारले बजार क्षेत्रमा मात्र नभई गाउँगाउँमा समेत मास्क अभियान सञ्चालन गरी सबै नागरिकलाई स्वास्थ्यप्रति जिम्मेवार बनाउन अभिप्रेरित गर्नुपर्दछ । केही दिनअघि मात्र चेपाङ बस्तीमा मास्क अभियान सुरु गरिएको भए पनि अन्य क्षेत्रमा यस अभियान पुग्न सकेको छैन ।
नागरिकलाई स्वास्थ्यप्रति जिम्मेवार बन्न अभिप्रेरित गर्नु सरकारको दायित्व हो, नत्र कोरोना सक्रमणले आम नागरिकलाई पिरोल्नेछ । सुगम क्षेत्रमा जस्तै दुर्गममा पनि कोरोना परीक्षणको सुविधा सहज बनाउनु आवश्यक छ ।