हेटौंडाः औषधी व्यवसायीलाई स्थानीय प्रशासनले पक्राउ गरेको विषयमा औषधी व्यवसायी संघ मकवानपुरले ध्यानाकर्षण भएको जनाएको छ । सर्जिकल मास्कको बढी मूल्य लिएको भन्ने उपभोक्ताको उजुरीको आधारमा स्थानीय प्रशासनको निर्देशनमा प्रहरीले मंगलबार र बुधबार गरी ३ जना व्यवसायीलाई पक्राउ गरेको विषयमा संघले ध्यानाकर्षण भएको जनाएको हो ।
कोभिड–१९ संक्रमणको दर तीव्र भइरहेका बेला जनप्रतिनिधि, कर्मचारी, राजनीतिकर्मी, नागरिक अगुवा, स्वास्थ्यकर्मी सवै मिलेर सचेतना अभिवृद्धि गर्न अग्रसर हुनुपर्नेमा जोखिम मोलेर व्यवसाय चलाइरहेका औषधी व्यवसायीलाई मास्कको मूल्यकै आधारमा पक्राउ गर्नु उचित नभएको औषधी व्यवसायी संघ मकवानपुरका अध्यक्ष नारायणलाल श्रेष्ठ बताउनुहुन्छ । आफू पनि कोभिड–१९ संक्रमण भई घरमै आइसोलेसनमा बसिरहेको बताउनुहुँदै अध्यक्ष श्रेष्ठले व्यवसायीका केही कमिकमजोरी भए त्यसलाई सुधार्न स्थानीय प्रशासनले निर्देशन दिनु विपरित प्रहरी लगाएर व्यवसायीलाई पक्राउ नै गर्नु महामारीका बेला उचित नहुने दावी गर्नुहुन्छ ।
सर्जिकल मास्कको गुणस्तरका आधारमा एउटा मास्कको ५ रुपैयाँदेखि १० रुपैयाँसम्म खुद्रा मूल्य सामान्य भएको र ससाना घुम्ती पसलले पनि मास्कको विक्री गरेर मास्कको प्रयोगलाई सहज र सरल बनाइरहेको अवस्थामा प्रशासनले चिकित्सकसहित व्यवसायीलाई नै पक्राउ गर्ने कार्यले चिकित्स र व्यवसायीको समेत मर्यादामा आँच आएको भन्दै निराशा व्यक्त गर्नुभयो ।
यतिबेला चिकित्सक र औषधी व्यवसायी नै संक्रमित भएर, औषधीको अभाव भएर कसरी सहज रुपमा औषधी तथा स्वास्थ्य सामग्रीको वितरण व्यवस्था मिलाउने भन्ने चिन्ता भइरहेका बेला चिकित्सक, व्यवसायीको हुर्मत नै लिने गरी प्रशासनले पक्राउ गर्ने, हिरासतमा राख्ने, मुद्दामामिला गरिरहने हो भने व्यवसायीले स्वास्थ्य सेवा जस्तो संवेदनशील व्यवसाय पनि बन्द गरेर बस्न बाध्य हुनुपर्ने अवस्था आउनेतर्फ अध्यक्ष श्रेष्ठले सचेत गराउनुभएको छ ।
यता प्रशासनले भने ५ रुपैयाँमा पाउने मास्कलाई १० रुपैयाँमा विक्री गरेको भन्दै उपभोक्ताको उजुरीका आधारमा व्यवसायीलाई नियन्त्रणमा लिई कालोबजारीसम्बन्धी मुद्दामा अनुसन्धान जारी राखेको जनाएको छ ।