कोराना भाइरस संक्रमणको दर पछिल्लो समय ह्वात्तै बढेको छ । देशव्यापीरुपमा दैनिक दश हजारमाथि संक्रमित हुँदा मकवानपुर जिल्लामा पनि तीन सयको हाराहारीमा दैनिक संक्रमण भेटिएको छ । सिमित परीक्षणबाट पाइएको उक्त संक्रमणलाई बास्तविकता मान्न सकिँदैन । पछिल्लो समय परीक्षण संख्याका आधाभन्दा बढीमा कोरोना भाइरस संक्रमण भेटिनुले परीक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अझै व्यापक बन्ने निश्चित छ । करिब एक हप्ताको बीचमै कोरोना भाइरस संक्रमण दशौं गुणा वृद्धि हुँदा तीन तहको सरकार भने गम्भीर देखिएको छैन । विगतमा जस्तो कडा लकडाउन नगरिएका कारण आम नागरिकले पनि लापरबाही गरिरहेको अवस्थामा सरकारी निकायहरुसमेत गैरजिम्मेवार बन्दा कोरोना भाइरस संक्रमणले ठूलो विपत्ति निम्त्याउला कि भन्ने डर बढ्दै गएको छ ।
देशका अन्य ६ प्रदेशको तुलनामा बागमती प्रदेशमा संक्रमण दर संक्रमितको संख्या धेरै बढी देखिएको छ । देशभरका कुल संक्रमितमध्ये करिब आधा जति काठमाडौं उपत्यकाभित्रकै रहेका हुन्छन् । प्रदेशका अन्य १० जिल्लाका संक्रमितसमेतलाई जोड्दा कुल संक्रमणको करिब ६० प्रतिशत बागमती प्रदेशका रहेका छन् । संघीय राजधानी रहेको काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा संक्रमित धेरै देखिएका छन् । त्यसपछि बागमती प्रदेशको मकवानपुर, चितवन र काभ्रेपलाञ्चोकमा बढी संक्रमित पाइएका छन् । रसुवा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखामा भने कोरोना संक्रमितको संख्या तुलनात्मक न्यून रहेको छ । देशका अन्य भागको अवस्था हेर्दा बढी जनघनत्व भएका ठूला शहर तथा भारतीय सीमावर्ती क्षेत्रमा संक्रमितको संख्या बढी पाइएको छ ।
संघीय राजधानी तथा बागमती प्रदेशमा धेरै संक्रमित हुँदा पनि संघीय तथा बागमती प्रदेश सरकारले संक्रमण बढ्न नदिन प्रभावकारी काम गर्न सकेको छैन । शैक्षिक संस्थाबाहेक सबै क्षेत्र खुला हुँदा कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको अनुमान गर्न कठिन छैन । अहिलेको कोरोना संक्रमितमा विगतका जस्तो जटिल स्वास्थ्य समस्या नदेखिए पनि संक्रमणको गति ज्यादै तिब्र बनिरहेको छ । विगतमा महिनाभरमा हुने संक्रमण अहिले दैनिक देखिन थालेको छ । कोरोना संक्रमण बढ्दै जाँदा भिडभाड बढ्न नदिन र स्वास्थ्य सुरक्षाका मापदण्डको पालनामा तीनै तहको सरकार तथा जनप्रतिनिधि क्रियाशील बन्न सकिरहेका छैनन् । अझ अधिकांश स्वास्थ्य संस्था तथा सरकारी कार्यालयका कर्मचारी नै संक्रमित भएको भन्दै ती निकायबाट हुनुपर्ने सेवाप्रवाह नै अवरुद्ध भइरहेका छन् ।
नागरिकको सेवा गर्न नियुक्त भएका कर्मचारी र निर्वाचित भएका जनप्रतिनिधि आफूले प्रभावकारी काम गर्न नसकेको कुरा ओझेलमा पार्न आम नागरिकलाई नै जिम्मेबार नबनेको आरोप लगाइरहेका छन् । जिम्मेवार निकायका पदाधिकारी तथा कर्मचारीहरु विगतमा ज सतै सामान्य ढंगबाटै परिचालित भइरहँदा अहिलेको जटिल परिस्थितिको उचित व्यवस्थापन सम्भव छैन । तीन तहको सरकारहरु एकआपसमा जिम्मेवारी पन्छाउने र आफूले मात्रै काम गरिरहेको बताउनमै ठिक्क छन् । महामारीको बेलामा चौबीसै घण्टा नागरिकलाई सुलभ र सहज सेवा दिन जिम्मेवार निकाय तयार नभएको अवस्थामा आम नागरिक स्वयम् सचेत र सजग हुनुपर्ने आवश्यकता बनेको छ ।