हेटौंडाः सर्जिकल मास्क महंगोमा बेचेको भन्दै प्रहरीले चिकित्सकलाई पक्राउ गरेको छ । सर्जिकल मास्क १० रुपैयाँमा विक्री गरी कालोबजारी गरेको भन्दै मकवानपुर प्रहरीले हेटौंडा–१ स्थित अन्सारी फार्मेसीका सञ्चालक डा. साजित अन्सारी र सक्षम औषधी पसलका सञ्चालक बब्लु पाण्डेलाई मंगलबार पक्राउ गरेको छ ।
सर्जिकल मास्क १० रुपैयाँ बेचेर कालोबजारी गरेको भनी उपाभोक्ताले जिल्ला प्रशासन कार्यालय मकवानपुरमा उजरी दिएपछि प्रशासनको निर्देशनमा प्रहरीले फार्मेसी सञ्चालक डा. अन्सारी र पाण्डेलाई पक्राउ गरेको हो । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सामान्यतया ५ रुपैयाँमा पाइने सर्जिकल मास्क १० रुपैयाँमा विक्री गरेको भन्ने उपभोक्ताको गुनासोका आधारमा डा. अन्सारी र पाण्डेलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
स्थानीय प्रशासनको निर्देशनपछि डा. अन्सारी र पाण्डेलाई पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभएको छ । उहाँका अनुसार दुवैजनालाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ । स्थानीय प्रशासनले सहायक प्रमुख जिल्ला अधिकारीको अगुवाईमा प्रहरी र उपभोक्तावादीको समेत सहभागितामा बजार अनुगमनको कार्य गरिरहेको छ ।