हेटौंडाः रोटरी क्लब अफ मकवानपुर, रोटरी क्लब अफ काठमाडौं मिड टाउन र हेटौंडा सामुदायिक आँखा अस्पतालको संयुक्त आयोजनामा शनिबार मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगन र सर्लाही जिल्लामा आयोजित निशूल्क आँखा शिविरमा मोतिविन्दु भएका ६८ जना विरामी भेटिएका छन् ।
मकवानपुरको बकैया गाउँपालिका–१२, ठिंगनमा आयोजित शिविरमा ७८ जनाको आँखा परीक्षण गर्दा १४ जनामा मोतिविन्दुका विरामी पहिचान भएको रोटरी क्लब अफ मकवानपुरका निर्वाचित अध्यक्ष कृष्णबहादुर कार्कीले जानकारी दिनुभएको छ । यस्तै सर्लाहीमा आयोजित शिविरमा एक सय ८६ जनाको आँखा परीक्षण गर्दा ५४ जनामा मोतिविन्दुको समस्या पाइएको अध्यक्ष कार्कीले बताउनुभयो ।
यसअघि शुक्रबार मकवानपुरको बकैया गाउँपालिका–२, धियाँलमा निशूल्क आँखा शिविरको आयोजना भएको थियो । शिविरमा १ सय ८६ जनाको आँखा परीक्षण गर्दा ४ जनामा मोतिविन्दुको समस्या पाइएको थियो । रोटरी क्लबको आयोजनामा आज आइतबार बारा जिल्लाको निजगढ नगरपालिकामा आँखा शिविरको आयोजना गर्न लागिएको कार्यक्रम संयोजक गोकर्ण सुवेदीले जानकारी दिनुभएको छ ।
दुर्गम क्षेत्र, विपन्न समुदाय लक्षित गरी निशूल्क आँखा शिविर आयोजना गर्नुका साथै शिविरमा मोतिविन्दुको समस्या भएका विरामीलाई हेटौंडास्थित हेटौंडा सामुदायिक आँखा अस्पतालमा निशूल्क शल्यक्रिया गर्ने व्यवस्था गरिएको अध्यक्ष कार्कीले बताउनुभएको छ । उपचारका लागि हेटौंडासम्म ल्याउने, लैजाने, उपचारको क्रममा खानेबस्ने व्यवस्था समेत आयोजकले नै गर्नेछ ।