हेटौंडाः नेकपा एमाले मकवानपुरको ११ औं अधिवेशन सुरु भएको छ । शुक्रबार दिउँसो १२ बजे हेटौंडा–४ स्थित रोयल पार्टी प्यालेसमा अधिवेशनको उद्घाटन कार्यक्रम सुरु भएको छ । नेकपा एमाले मकवानपुरका अध्यक्ष बद्रिप्रसाद लम्सालको अध्यक्षता तथा नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य एवम् बागमती प्रदेश ईन्चार्ज काशिनाथ अधिकारीको प्रमुख आतिथ्यमा अधिवेशनको उद्घाटन कार्यक्रम भइरहेको छ ।

नेकपा एमाले मकवानपुर जिल्ला अधिवेशन प्रतिनिधिहरु ।

शुक्रबार देशभर नेकपा एमालेको जिल्ला अधिवेशन भइरहेको छ । एमाले मकवानपुरको ११ औं अधिवेशनबाट नयाँ जिल्ला कमिटी चयन हुनेछ । जिल्ला कमिटीको अध्यक्षमा बद्रिप्रसाद लम्साल र एकालाल श्रेष्ठ आकांक्षीको रुपमा देखिएका छन् । लम्साल र श्रेष्ठ दुवैले प्यानल नै बनाएर निर्वाचनमा होमिने तयारी गरेका छन् । जिल्ला अधिवेशनमा करिब ८ सय प्रतिनिधि सहभागी छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट देशभर एकैसाथ जिल्ला अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गरिरहनु भएको छ । अध्यक्ष ओलीले जिल्ला अधिवेशनमा सबै सदस्यहरु एकताबद्ध भएर सहमतिमा पुग्न, एउटै टिम भएर अगाडि बढ्न आग्रह गर्नु भएको छ । त्यसो हुन नसकेमा स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्न पनि उहाँको निर्देशन रहेको छ ।