फाइल तस्बिर । अस्मिता भट्टराई (प्रशिक्षार्थी)

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा २०७८ सालको दोस्रो त्रैमासिक परीक्षा पुस २० गतेबाट सुरु भएको छ । विद्यालयले ईसीडीदेखि कक्षा १० सम्मको त्रैमासिक परीक्षा ३ सिफ्टमा लिइरहेको छ ।

पहिलो सिफ्टमा ईसीडीदेखि कक्षा ६ सम्म साढे १० देखि १२ बजेसम्म डेढ घण्टा र दोस्रो सिफ्टमा कक्षा ७ र ९ को सवा १२ बजेदेखि पौने २ बजे सम्म डेढ घण्टा सञ्चालन भइरहेको आधुनिक राष्ट्रिय माविका परीक्षा संयोजक कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, कक्षा ८ र १० को गणित र ऐच्छिक विषय ३ घण्टा र अरु डेढ घण्टाकै समयमा परीक्षा भइरहेको उहाँले बताउनुभयो ।

विद्यालयमा विद्यार्थी संख्या धेरै भएकाले ३ सिफ्टमा परीक्षा सञ्चालन भइरहेको परीक्षा संयोजक श्रेष्ठको भनाई छ । विद्यालयमा ईसीडीदेखि कक्षा ६ सम्म ७ सय जना विद्यार्थी रहेका छन् भने कक्षा ७ देखि १० सम्ममा १ हजार २ सय जना विद्यार्थी अध्ययनरत रहेको पनि उहाँले बताउनुभयो । परीक्षा पुस २८ गतेसम्म चल्नेछ ।

यसैगरी हेटौंडामा नगर शिक्षा समितिको निर्देशनअनुसार पुस १८ गतेबाट नै दोस्रो त्रैमासिक परीक्षा सञ्चालन गरिसक्नुपर्ने भएपनि २ दिन परीक्षा ढिला सञ्चालन भएको उहाँले बताउनुभएको छ । परीक्षापछि माघे संक्रान्तिसम्म विद्यार्थीहरुलाई छुट्टी दिने गरी तयारी भएपनि माघ २ गते अर्को परीक्षाको केन्द्र परेकाले विद्यार्थीलाई धेरै छुट्टी हुने भएकाले २ दिन ढिला परीक्षा सुरु गरिएको पनि उहाँको भनाई छ ।