हेटौंडाः जेसीआई हेटौंडाको वर्ष २०२२ को अध्यक्षका लागि २ जनाको उम्मेद्वारी परेको छ । जेसीआई हेटौंडाको निर्वाचन कार्यक्रम अन्तर्गत अध्यक्ष पदका लागि पवन कुमार कंशाकार र श्रवण कुमार बर्तौलाले उम्मेद्वारी परेको निर्वाचन आयुक्त राजदेव बनियाँले जानकारी दिनुभएको छ ।
निर्वाचन आयुक्त बनियाँका अनुसार बुधबार बिहान ११ बजेदेखि साढे ११ बजेसम्म उम्मेदवारी दर्ता गराउने तालिका रहको थियो । यस्तै २ जना कार्यकारिणी उपाध्यक्षमा भने शिव कुमार श्रेष्ठ र संग्राम बल लामा सर्वसम्मत निर्वाचित हुने भएका छन् । कार्यकारिणी उपाध्यक्षमा २ जनाका लागि निर्वाचन गर्नुपर्नेमा २ जनाले मात्र उम्मेद्वारी दिएपछि उनीहरु नै निर्विरोध हुने निश्चित भएको निर्वाचन आयुक्त बनियाँले जानकारी दिनुभयो ।
यसैगरी उपाध्यक्ष पदमा पनि उम्मेद्वारी दर्ता गराएका ४ जना नै निर्विरोध निर्वाचित हुने भएका छन् । ४ जनाको लागि रहेको उपाध्यक्ष पदमा महेश्वर अधिकारी, श्याम कृष्ण दहाल, संदिप जंग कार्की र अमित आचार्यले उम्मेदवारी दर्ता गराएका थिए । अब अध्यक्ष पदका लागि मात्र चुनाव हुने भएको छ । अध्यक्षका कुनै पनि उम्मेदवारमाथि दाबी बिरोध नपरेको र उम्मेद्वारले नाम फिर्ता नलिएकाले अध्यक्ष पदमा मात्र चुनाव हुने निर्वाचन आयुक्त बनियाँले बताउनुभयो । निर्वाचन कार्यक्रम अन्तर्गत मतदान भोलि बिहीबार दिउँसो १ बजेबाट सुरु हुनेछ ।