हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा ६ वटा कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आज अमेरिकन मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विरुद्ध विरोध प्रदर्शन गरेको छ । राष्ट्रघाती एमसीसी खारेज गर भन्दै आज हेटौंडाको बुद्ध चोकबाट उद्योग वाणिज्य संघ हुँदै सिमाचोकसम्म विरोध र्‍यालीको आयोजना गरिएको छ । एमसीसीको विरोधमा समर्थन गर्दै मकवानपुर बहुमुखी क्याम्पसमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरु पनि र्‍यालीमा सहभागि भएका थिए ।

एमसीसी राष्ट्रघाती भएको कारण यसको विरोध गर्न आएको विद्यार्थीहरुले बताएका छन् । एमसीसीको विरोध प्रदर्शनमा नेकपा मकवापनुर, नेकपा क्रान्तिकारी माओवादी मकवानपुर, नेकपा मसाल, नेकपा माले र वैज्ञानिक समाजवादी कम्युनष्टि पार्टी नेपाल लगायतको सहभागिता रहेको थियो । देउवा सरकारले एमसीसी फिर्ता नलिए वा खारेज नगरे देउवा सरकारविरुद्ध कडा आन्दोलन गर्ने नेकपा मकवानपुरका ईन्चार्ज नयनले बताउनुभयो ।