हेटौंडाः बागमती प्रदेशमा मुख्यमन्त्री राजेन्द्र पाण्डेले मंगलबार ५ मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् । प्रदेशमा गठबन्धनको सरकार गठन भएसँगै तेस्रो पटक मन्त्रीपरिषद् विस्तार हुन लागेको हो । मन्त्री बन्नेको नाम माओवादीले उपलब्ध गराएको छ । माओवादीबाट ३ जना मन्त्री बन्ने पक्का भएको छ । माओवादीबाट दोलखाका सांसद विशाल खड्का, चितवनका घनश्याम दाहाल र काभ्रेका रत्न प्रसाद ढकाल मन्त्री बन्ने भएका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीको तर्फबाट २ जना मन्त्री बन्ने चर्चा छ । उनीहरुको नाम सार्वजनिक भएको छैन । समाजवादीबाट बसुन्धारा हुमागाई र बसन्त मानन्धर मन्त्री बन्ने चर्चा छ । उनीहरु मध्ये एक जना राज्यमन्त्री बन्न सक्ने मुख्यमन्त्री कार्यालय स्रोतले बतायो ।

आजै सपथ ग्रहण हुनसक्ने समाजवादी पार्टी बागमती प्रदेशको प्रमुख सचेतक मुनु सिग्देलले बताउनुभयो । बागमती प्रदेशमा हाल ५ जना मन्त्री छन् । ८ मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाएसँगै मन्त्री नियुक्त गर्न लागिएको हो । नेपाली कांग्रेसले भने मन्त्री बन्नेको सुचि उपलब्ध गराएको छैन । यता प्रदेश प्रमुख कार्यालयले भने आजै सपथ ग्रहण गराउन तयार रहेको जनाएको छ । आधिकारी पत्र आइनसकेको कारण आज सपथ हुने या नहुने भन्न नसकिएको प्रदेश प्रमुख कार्यालयको प्रेस सम्योजक शिव चौलागाईले जानकारी दिनुभयो ।