हेटौंडाः बामगती प्रदेशसभा बैठक किन बस्दैन ? यतिबेला सबैको चासोको विषय बनेको छ । मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विश्वासको मत प्राप्त गरेपछि स्थगित प्रदेशसभा बैठक हालसम्म पनि बस्न नसकेको हो । बागमती प्रदेशसभाबाट उच्च शिक्षासम्बन्धी विधेयक र पर्यटनसम्बन्धी विधेयक पारित हुन बाँकी छ । यस्तै प्रदेशसभामा केही ऐन संशोधन गर्न बनेको विधेयक रहेको छ ।

बागमती प्रदेशसभाको बैठक नियमित बस्न नसक्दा प्रदेशसभाबाट आवश्यक कानुनहरु निर्माण हुन सकेको छैन । पहिचान भएको ८२ वटा ऐनमध्ये हालसम्म ४५ ऐन बन्न बाँकी रहेको प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले जानकारी दिनुभयो । सभामुख श्रेष्ठका अनुसार हालसम्म प्रदेशसभाबाट पारित भएर प्रमाणित भएका ऐनहरु ३७ वटा रहेका छन् ।

बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यको सरकारलाई हटाएर कांग्रेस, माओवादी र समाजवादीको संयुक्त सरकार गठन भएको थियो । गठबन्धनको सरकारले प्रदेशमा हालसम्म ६ जना मन्त्री नियुक्त गरेको छ । यस्तै मन्त्रालयलाई फुटाएर १४ मन्त्रालय बनाउन सक्ने बनाएकोे छ । प्रदेशमा गठबन्धनको सरकार आएपछि प्रदेशको गौरवको आयोजना रोक्न निर्देशन दिइसकेको अवस्था छ । प्रदेशको गौरवको आयोजना सुरुङ मार्ग, विद्युतीय बस खरिद प्रक्रियालगायत यसअघिका सरकारले गरेको विकासको कामहरु धमाधम रोकिँदै गएको छ ।

यस्तो अवस्थामा बागमती प्रदेशमा सम्बन्धित सांसदहरुले जनताको आवाज संसदमा राख्न वञ्चित भएका छन् । बागमती प्रदेशको पूर्वमुख्यमन्त्री समेत रहनुभएका डोरमणि पौडेलले प्रदेशसभा बैठक नबस्दा जनताको कुरा राख्न नपाएको बताउनुभयो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको प्रमुख सचेतक दीपक निरौलाले प्रदेश सरकारले जम्बो मन्त्रिपरिषद् विस्तार गर्न आवश्यक नभएको बताउनुभयो । उहाँले प्रदेशको विकासमा लगाइएको रोकबारे संसदमा आवाज उठाउन बन्देज लगाए पनि जनतासामु उठाएको बताउनुभयो । प्रदेशसभाको बैठक बसेलगत्तै सरकारको गलत प्रवृत्तिको बारे संसदमा सशक्त आवाज उठाउने उहाँले बताउनुभयो ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा गत कात्तिकमा नियुक्त भएर विश्वासको मत समेत प्राप्त गर्नुभएका राजेन्द्र पाण्डेले प्रदेशबासीको हकमा लोकप्रिय केही निर्णयहरु गरेपनि आफ्नो सरकारलाई पूर्णता भने दिन सक्नुभएको छैन । बिहीबार मुख्यमन्त्री पाण्डे हेटौंडा आउने र मन्त्रिपरिषद् विस्तारबारे छलफल अघि बढ्ने सरकारका प्रवक्ता कृष्ण खनालले बताउनुभयो ।

उहाँले बागमती प्रदेशसभाको बैठक भने हालसालै बस्ने अवस्था नभएको बताउनुभयो । बैठक आह्वान गर्न केही समय लाग्ने उहाँले संकेत गर्नुभएको छ । बागमती प्रदेशमा थप को को मन्त्री बन्ने टुंगो छिट्टै लाग्ने प्रवक्ता खनालले जानकारी दिनुभयो । प्रदेशसभाको बैठक भने कांग्रेस र माओवादीको महाधिवेशन सकिएपछि मात्रै बस्ने भएको छ । अहिले सबै दलहरु आ–आफ्नो महाधिवेशनमा लागेका कारण प्रदेशसभाको कामहरु पनि अघि बढ्नसकेको छैन । बागमती प्रदेशसभा नबस्दा समिति पनि सक्रिय हुनसकेका छैनन् । समितिहरु पनि विजनेशबिहीन बनेको छ । सरकारको अनुगमन र सुझाव दिनुपर्ने केही समिति अझै सभापतिबिहीन छ ।