देशकै सर्वाधिक ठूलो पुरस्कार राशि भएको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मकवानपुरका २१ जना खेलाडी खेल्दैछन् । मकवानपुरकै कुनै टिमबाट नभई देशका विभिन्न क्लबबाट उनीहरुले आफ्नो क्षमता देखाउने अवसर पाएका हुन् । एउटा प्रतियोगितामा यति धेरै खेलाडीले अवसर पाउने सम्भवतः मकवानपुर नै पहिलो जिल्ला हो । यो खबरले जिल्लाबासीको छाती गौरवले चौडा भएको हुनुपर्दछ । तर यस्ता प्रतिभालाई समेटेर जिल्लाकै टिम बनाउन नसक्नुले हिनताबोध पनि गराउँदछ । जिल्लाभित्रका कुनै पनि संस्थाहरुले खेल प्रतिभालाई चिन्न नसक्नु वा संगठित गर्न नसकिएकोप्रति मकवानपुरे खेलकर्मी, संस्था र क्लबहरुको कमजोरी नै हो । देशका विभिन्न क्लबमा आवद्ध भएका यी प्रतिभालाई समेटेर टिम बनाउने हो भने सबै उपाधि जिल्लामै भित्रने पक्का छ ।

सर्वाधिक ठूलो र चर्चित लिगमा मकवानपुरका धेरै खेलाडी सहभागी भएका छन् भनेर गर्व गरेरमात्र पुग्दैन । खेलाडीको मिहिनेतलाई जिल्लाको उन्नयनमा लगाउन सक्नुपर्दछ । जिल्लाका प्रतिभाहरुले जहाँबाट खेल्छन्, प्रतिफल ती क्लबहरुले नै पाउनेछन् । यी खेलाडीलाई समेटेर जिल्लाकै तर्फबाट क्लब किन नबनाउने भन्नेतर्फ कसैको सोच छैन । जिल्लामा हुने विभिन्न प्रतियोगितामा समेत यी खेलाडीहरुले मौका पाउँदैनन् । बरु अन्य जिल्लाका खेलाडीहरुलाई बोलाउने गरिएका धेरै उदाहरण छन् । अरुले चिन्न सकेको प्रतिभालाई जिल्लाकै क्लबले वास्ता गरेको पाइँदैन ।

नजिकको तीर्थ हेला भनेजस्तै आफ्नै खेलाडीहरुको क्षमतालाई अरुहरुले उपयोग गर्दै आएका छन् भने जिल्लाकै क्लबहरुले विश्वास गरेको देखिँदैन । कमजोर थिए भने ‘ए’ डिभिजनकै लागि कसरी अनुबन्ध भए ? ‘ए’ डिभिजन खेल्न सक्ने खेलाडीहरु उत्पादन गर्न सक्नु मकवानपुर फुटबलको ठूलो उपलब्धी हो । तर उनीहरुलाई अवसर दिन नसक्नु ठूलो भूल भइरहेको छ । जिल्लाका क्लबले उनीहरुलाई राख्न चानचुने खर्चले पुग्दैन । ठूलो लगानी गर्नेगरी क्लबको योजना बन्नुपर्दछ । उद्योगकै रुपमा विकास गर्ने सोचका साथ ठूलो परियोजना बनाउन आवश्यक छ । खेलाडीहरुको भविष्यलाई सुनिश्चित गर्नेगरी जिल्लाका सबै स्थानीय तहदेखि उद्योगी व्यवसायीहरु तथा लगानीकर्ताहरु एकै ठाउँमा उभिन तयार हुनुपर्दछ । तबमात्र राष्ट्रिय चर्चामा रहेका मकवानपुरे खेलाडीलाई जिल्लाकै टिममार्फत् उतार्न सकिनेछ ।

‘ए’ डिभिजन लिग खेल्दै मकवानपुरको नाम राख्ने काम गर्दा फुटबल संघ, स्थानीय तह तथा वडास्तरबाट प्रोत्साहन गर्ने कार्य भएमा अर्को सिजनमा अझ धेरै खेलाडीहरु उत्पादन हुनेछन् । जिल्लामा फुटबलको प्रशिक्षण शहरकेन्द्रितमात्र भएकाले यसलाई गाउँहरुमा पु¥याउन सके अझ धेरै सम्भावना बोकेका खेलाडी उत्पादन हुनेछन् । फुटबलको पर्याप्त सम्भावना बोकेको मकवानपुरमा शीर्ष स्थानका खेलाडीहरु भएपनि लिग नै खेल्नेगरी व्यावसायिक क्लबको स्थापना र सञ्चालन गर्ने योजनासहितको समूहको अभाव छ । जिल्लाका केही क्लबहरुले पछिल्लो समय ‘सी’ डिभिजन लिग छनोट खेल्दै लिगयात्रा सुरु गर्न चाहे पनि छनोटमा सोचेअनुरुपको प्रदर्शन देखिएको छैन । यतिका खेलाडीहरु शीर्ष लिग खेलिरहँदा जिल्लामै प्रशिक्षणरत खेलाडीहरुले लिग छनोटमा राम्रो प्रदर्शन गर्न नसक्नु फुटबलका संघसंस्था तथा क्लबले समीक्षा गर्नुपर्दछ ।