गुगल तस्बिर ।

हेटौंडाः विद्यालयको शिक्षक/कर्मचारीको निधनमा शोक मनाउन विद्यालयहरुमा विदा दिएको विषयमा चर्चा तथा आलोचना भएको छ । हेटौंडा–४ स्थित श्रमिक माविमा कार्यरत लेखापाल विमल श्रेष्ठ (टोनी) को कार्तिक २४ गते मृत्यु भएकाले आइतबार हेटौंडाका विद्यालयमा शोक विदा दिइएको थियो ।

नेपाल शिक्षक महासंघको आह्वानमा विद्यालय कर्मचारी श्रेष्ठको निधनमा शोक मनाउँदै हेटौंडाका सामुदायिक तथा केही संस्थागत विद्यालयहरु बन्द भएका थिए । एउटा विद्यालयको कर्मचारीको निधनमा उपमहानगरपालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको भन्दै सञ्चार माध्ययमा आएका आलोचनाप्रति हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले पनि ध्यानाकर्षण भएको जनाएको छ । एकदिन विद्यालय बन्द हुँदा शिक्षामा क्षति पुग्ने भएकाले आलोचना गरिएको हो ।

उपमहानगरपालिकाका शिक्षा अधिकृत रामचन्द्र खड्काका अनुसार शिक्षा विकास महाशाखाले बन्द भएका विद्यालयलाई एक हप्ताभित्र स्पष्टिकरणसहित पत्र पेश गर्न निर्देशन दिएको छ । शिक्षा क्षेत्रमा योगदान पुर्‍याउनुभएका श्रेष्ठको निधनप्रति विद्यालयहरुमा शोकसभा गरेर पठनपाठन बन्द गरिएको नेपाल शिक्षक महासंघ हेटौंडाका अध्यक्ष दीपक अधिकारीले बताउनुभयो । साथै उपमहानगरपालिकाका विभिन्न विद्यालयका शिक्षकहरु श्रमिक माविमा जम्मा भई शोकसभा गरिएको पनि अधिकारीले जानकारी दिनुभयो ।

भ्रमणका क्रममा कार्तिक २४ गते भारतको दार्जिलिङमा असामयिक निधन भएको श्रेष्ठको २६ गते हेटौंडामा दाहासंस्कार गरिएको थियो । विद्यालयमा पठनपाठन कार्यमा समेत संलग्न रहनुभएका श्रेष्ठको निधनमा शोकसभा गरेर एकदिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय महासंघले प्रधानाध्यापकहरुको सहमतिमा गरेको थियो । श्रेष्ठ कार्यरत विद्यालयमा सबै शिक्षकहरु उपस्थित भई गरिएको शोकसभामा हेटौंडा उपमहानगरपालिकाका मेयर तथा शिक्षा विकास महाशाखा प्रमुखलाई पनि निमन्त्रणा गरिएको भए पनि कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको अध्यक्ष अधिकारीले बताउनुभयो ।

विद्यालय बन्द गरिएकोमा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले सञ्चार माध्यममा दिनुभएको आक्रोशपूर्ण अभिव्यक्तिप्रति नेपाल शिक्षक महासंघले आपत्ति जनाएको छ । यसैगरी हेटौंडा उपमहानगरपालिका शिक्षा विकास महाशाखाले विद्यालय बन्द गर्नुको कारणसहित स्पष्टिकरण माग गर्ने निर्देशनप्रति पनि आपत्ति जनाएको अध्यक्ष अधिकारीले जानकारी दिनुभयो । विद्यालयका शिक्षक तथा कर्मचारीको निधनमा पालिकाभित्रका विद्यालयहरुमा शोक विदा दिने विगतको अभ्यासअनुसार महासंघले शोक मनाउन विद्यालय बन्द गर्ने निर्णय गरेको उहाँले बताउनुभयो ।