साङ्केतिक तस्बिर गुगल

हेटौंडाः मकवानपुरमा एचआईभी संक्रमितहरुको संख्या झण्डै ४ सय रहेको छ । मकवानपुरमा मात्र ३ सय ९९ जना एचआईभी संक्रमित रहेको हेटौंडा अस्पतालका एआरटी काउन्सिलर सुजल श्रेष्ठले जानकारी दिनुभयो ।

एचआईभी संक्रमितहरु १ सय २७ जना महिला, १ सय ४४ जना पुरुष छन् भने १८ जना तेस्रो लिङ्गीले एआरटी औषधी नियमति सेवन गरिरहेको उहाँले बताउनुभयो । मकवानपुरका केही संक्रमितहरुले भने अन्य जिल्लाबाट एआरटी खाइरहेको श्रेष्ठले बताउनुभयो ।

प्रत्येक महिनामा करिब ४–५ जना एचआईभीका नयाँ संक्रमितहरु जिल्लामा देखिने गरेको उहाँको भनाई छ । एचआईभी संक्रमण भएपछि मानव प्रतिरक्षा प्रणालीलाई कमजोर गर्ने भाइरस शरीरमा प्रवेश हुने भएकाले रोगसँग लड्ने क्षमता कमजोर हुने विज्ञहरुको भनाई छ ।

एचआईभी संक्रमित हुँदैमा एड्स नहुने भएकाले एचआईभी संक्रमित भएका व्यक्तिहरु धेरै वर्षसम्म स्वस्थ र बलियो देखिनसक्ने उहाँले बताउनुभयो । सन् २०१२ देखि हालसम्म मकवानपुरमा ३२ जनाको एचआईभी संक्रमणका कारण मृत्यु भएको उहाँले बताउनुभयो । एचआईभी संक्रमित भएका बिरामीको उपचार हुने भएकाले समयमै उपचार गर्नुपर्ने उहाँले बताउनुभयो । संक्रमित भएको लामो समय भएपछि उपचार हुन कठिन र किटाणुको वृद्धि विकास हुनेहुँदा संक्रमितको रोगसँग लड्न सक्ने क्षमता कम हुने साथै समयमा उचित उपचार नगराए संक्रमितमा बाँझोपन देखिने र मृत्युसमेत हुने खतरा रहने श्रेष्ठले बताउनुभयो ।

एचआईभी संक्रमित भएको थाहा पाए पनि कतिपय बिरामी उपचार गर्न नचाहने, आफूमा भएको संक्रमणको बारेमा खुलाउन नचाहने गरेको श्रेष्ठको भनाई छ । विभिन्न संघसंस्थाले एचआईभी संक्रमित पहिचान गर्न मकवानपुरमा काम गर्दै आएको छ । उनीहरुमा एचआईभी भएको प्रमाणित भएसँगै त्यसको उपचार गर्न संक्रमितहरु नचाहने गरेको श्रेष्ठले बताउनुभयो । असुरक्षित यौनसम्पर्क, संक्रमित रगत, संक्रमित आमाले बच्चा जन्माउँदा संक्रमितले प्रयोग गरेको सिरिञ्ज अर्को व्यक्तिले प्रयोग गर्दा एचआईभी सजिलै सर्ने उहाँले बताउनुभयो ।

एचआईभी संक्रमितमा लामो समयसम्म सामान्य ज्वरो आउने, पखाला लाग्ने, सन्चो नहुने जस्ता लक्षण देखिने भएकाले लामो समयसम्म ज्वरो आएमा लामो समयसम्म निको नभएमा चिकित्सकसँग परामर्श लिई रोग पहिचान गराउन उहाँले अनुरोध गर्नुभयो । नेपाल सरकारकै पहलमा जनचेतना जगाइरहँदा पनि एचआईभी संक्रमित बढ्दै गइरहेकाले समयमै एचआईभी संक्रमितले आफ्नो रोग पहिचान गरी समयमै औषधी उपचार गर्न सकेमात्र यसलाई न्युनीकरण गर्न सकिने श्रेष्ठले बताउनुभयो ।