नेपालमा बसोबास गर्ने सबै धर्म, संस्कृति र रितिरिवाज मान्न मानिसले आफूले मान्दै आएका चाडपर्वहरु मनाउँदछन् । त्यस मध्येका अझ बढी खर्च हुने दशैं, तिहार, छठ जस्ता पर्व सकिएका छन् । अन्य पर्वहरु आउँदै छन् । पर्वहरु विशेषगरी आर्थिक पक्षसँग जोडिएका हुन्छन् । तर पर्व लक्षित कुनै आर्थिक नीति वा कार्यक्रम बन्ने गरेको छैन । पर्वहरु व्यावसायिक दृष्टिकोणबाट उपलब्धिमूलक हुने गर्दछन् । घरायसी धार्मिक कार्यले समेत आर्थिकरुपमा प्रभाव पारेको हुन्छ । राष्ट्रिय पर्वहरुले त देशकै अर्थतन्त्रलाई प्रभावित पार्दछ । अति सामान्य परिवारदेखि धनाढ्य नागरिकले पर्वका लागि अलग्गै बजेट बनाएका हुन्छन् । व्यक्ति र परिवारको चाडपर्वमा हुने आम्दानी र खर्चले राष्ट्रिय अर्थतन्त्रलाई समेत प्रभावित पार्ने अवस्था छ ।

नेपाली परम्पराका नाममा मनाईने चाडपर्वहरु निकै खर्चिला हुने गरेका छन् । धर्म, संस्कृतिको संरक्षणका लागि फजुल खर्च आवश्यक छैन । मानिसले आफ्नो क्षमताले भ्याएको मात्र खर्च गर्नु पर्दछ । तर देखासेखी गर्ने आडम्बरी प्रचलन सामाजिकरुपमा विकृति हो । पर्वहरुका असल पक्षको संरक्षण गर्ने र नकारात्मक पक्षलाई छोड्नु नै सुधारात्मक अभियान हो । तर बर्षमा एकपटक आउने चाड भन्दै मन खुलाएर खर्च गर्दा प्रत्येक पर्वमा ऋणको भारी बोक्नु पर्ने बाध्यता छ । रितिरिवाज नेपाली मौलिकता हुन् । यिनको संरक्षण सबै सामाजिक सदस्यको दायित्व हो । संस्कृतिलाई सरल बनाउने जिम्मेवारी पनि हाम्रो नै हो । यसका लागि पर्व मनाउन समान व्यवहारको विकास हुन जरुरी छ ।

खर्च धेरै गर्ने तर त्यसको व्यवस्थापन आफैं भित्रबाट नगर्दा पर्वहरुमा नेपाली मुद्रा विदेशिँदै गएको छ । पर्व मनाउन खर्बौं मूल्यका सामान आयात हुने गरेको छ । प्रत्येक वर्ष व्यापार घाटा बढिरहेको छ । त्यस माथि पर्व मितव्ययी बनाउने भन्दा फजुल खर्च बन्दै गएका र आयात समेत बढेको छ । आफैँले उत्पादन गर्न सकिने वस्तु समेत पर्वका लागि विदेशबाटै मगाउने गरिएको छ । दशैंमा आवश्यक पर्ने मासुजन्य पदार्थ चीन र भारतबाट आयात गरिँदै आएको छ । कृषिप्रधान देशको यो अवस्थाले व्यापार घाटा किन नहुनु ? प्रत्येक परिवारले आफूलाई आवश्यक पर्ने यस्ता उपभोग्य वस्तु आफैँ व्यवस्थापन गर्नेतर्फ किन सोचाई जान सकेको छैन ?

तिहारमा चाहिने भाइ–मसला र फूलदेखि छठमा आवश्यक पर्ने फलफूल समेत भारतबाट आयात हुने गरेको छ । यस्तै नेपालमा मनाईने अन्य धर्मावलम्बीहरुका पर्वमा आवश्यक पर्ने धेरैजसो सामग्री आयात नै हुने गरेको छ । नेपालमा उत्पादन भएका सामग्री अपुग भएको भनिन्छ । तर कतिपय किसानले बजार नपाएको गुनासो गरेका छन् भने उपभोग गर्नेहरुले पनि विदेशी उत्पादनलाई नै महत्व दिने गरेको देखिन्छ । मानिसको बानी–व्यवहार, सरकारको नीति–नियम तथा लगानीकर्ताको अनिच्छाका कारण पर्वहरुमा विदेशी सामान आयात र नेपाली मुद्रा निर्यात भइरहेको छ । जसले नेपाली अर्थतन्त्रमा नकारात्मक प्रभाव परेको छ । यसलाई न्यूनीकरण गर्न राज्यबाट किसानलाई प्रोत्साहन गर्नेदेखि चाडपर्व लक्षित उत्पादनका योजना बनाउन आवश्यक छ ।