हेटौंडाः हेटौंडा–१४ मा आयोजना भएको निशुल्क १ दिने आँखा शिविर सम्पन्न भएको छ । शनिबार सामुदायिक आँखा अस्पताल र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको आयोजनामा शिविर भएको हो ।

शिविरमा १ सय ५० जनाले सेवा लिएका छन् । जसमध्ये आँखामा मोतीविन्दुको समस्या देखिएका बिरामी २१ जना रहेको हेटौंडा सामुदायिक आँखा अस्पतालका व्यवस्थापक सुधीर श्रेष्ठले जानकारी दिनुभयो । २१ जना मोतीविन्दुका बिरामीलाई सामुदायिक अस्पतालमा आवासको व्यवस्थासहित तिहारपछि निःशुल्क शल्यक्रिया गरिने श्रेष्ठले बताउनुभयो ।

हेटौंडा–१४ स्थित जनज्योति माध्यमिक विद्यालय परिसरमा भएको आँखा शिविरमा हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्का, सांग्रिला डेभलपमेन्ट लिमिटेडका बैंकका शाखा प्रवन्धक रुपक मैनाली लगायतको आतिथ्य रहेको थियो ।