गुगल तस्विर ।

हेटौंडाः मकवानपुरका एक युवकलाई आफ्नै छिमेकीहरुले कुटपिट गरेर मृत्यु भएपछि प्रहरीले शंकास्पदरुपमा आत्महत्या भनेकोमा मृतकको आमाले प्रहरीको भूमिका शंकास्पद रहेको बताउनुभएको छ ।

घटना मकवानपुरगढीको भाद्र १९ गतेको हो । कल्पना विकका २१ वर्षीय छोरा रमेश विकलाई छिमेकीहरु यादव पुडासैनी (बाबु), राजीव पुडासैनी (छोरा), सरस्वती पुडासैनी (आमा)ले संयुक्त कुटपिट गरेको मृतकका आमा कल्पना विकले बताउनुभयो । आफूले प्रत्यक्ष देखेर हारगुहार गर्दा कुटपिट गरेर रगत वान्ता गरेसँगै रमेश विक भागेर घर गएका थिए । तर कुटपिट भएको केहीबेरमा छोरा गोठमा झुन्डिएर मर्‍यो भन्ने खबर आएको भन्दै घटनामा प्रहरीले सत्य कुरा उल्लेख नगरेको पीडित आमाको भनाई छ ।

उनले छोराको आत्महत्या नभएर हत्या भएको भन्दै न्यायको माग गर्नुभएको छ । प्रहरीमा आफूले पटकपटक जाहेरी दिन गएपनि उनीहरुको भनेअनुसार नभएको भन्दै लिनै नमानेको र उनीहरुले भनेअनुसार लेखेपछि मात्रै उजुरी लिएको कल्पना विकले बताउनुभयो ।

मृतक रमेश विकका पिता गोपीलाल विक विदेशमा थिए । प्रहरीले परिवारको सदस्य नभई मृतकलाई हेटौंडा अस्पतालमा पोस्टमार्टम गर्न हतारले ल्याएको र लाश जलाउन पनि हतार गरेको सरस्वती विकको भनाई छ । छोरा रमेश विकलाई कुटपिट गरेको समयमा प्रहरी नै उपस्थिति रहेको उहाँले बताउनुभयो । प्रहरीले पनि कुटपिट गरेर मृत्यु भएको घटनालाई आत्महत्याजस्तै गरेर देखाइएको उहाँले बताउनुभयो ।

प्रहरीले शंकाको घेरामा रहेका छिमेकीहरुलाई पक्राउ गरेर अनुसन्धान गरेपनि अदालतले धरौटी रकम तिरेर उनीहरुलाई छाडेको बताउनुभयो । न्यायालयले पनि न्याय नगरेको भन्दै पीडित विकले न्याय दिन प्रहरीलाई आग्रह गर्नुभएको छ । छिमेकी पुडासैनी परिवारप्रति आफ्नो परिवारको कुनै नराम्रो नभएको भन्दै काठमाडौंबाट आएको केही दिनमै छोरालाई कुटपिट गरेर हत्या गरेको देख्दा पनि प्रहरीले सत्यतथ्य छानविन गर्न नसकेको उहाँले बताउनुभयो ।