तस्बीरः गुगल ।

हेटौंडाः अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा आज बिहीबारबाट उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगितामा हेटौंडा उपमहानगरपालिकासहित ३१ टिमले सहभागिता जनाउँदैछन् ।

प्रतियोगितामा सहभागिता जनाएको हेटौंडा उपमहानगरपालिकाको टिमको तयारी भने केही फितलो देखिएको छ । प्रतियोगिता सुरु हुने दिनसम्म पनि हेटौंडाको महिला फुटबल टिम छनोट गर्न नै बाँकी रहेको छ । प्रतियोगिता नजिकिँदासम्म खेलाडी छनोट हुन ढिला हुँदा टिमको तयारी भने केही कमजोर हुने देखिन्छ । प्रतियोगिताका लागि हेटौंडालगायत मकवानपुर जिल्लाका महिला खेलाडीहरुले व्यक्तिगतरुपमा प्रशिक्षण गरिरहे पनि चाँडो टिम छनोट नहुँदा समूहगतरुपमा भने प्रशिक्षण गर्न पाएका छैनन् ।

प्रतियोगिताका लागि हेटौंडाको टिम तयार गरी सहभागिता जनाउने जिम्मा मकवानपुर फुटबल संघले लिएको छ । बिहीबारबाट नै प्रतियोगिता सुरु भएपनि हेटौंडाको पहिलो खेल कार्तिक १० गते रहेको छ । जसअनुरुप संघले खेलाडी छनोट गर्ने मिति तोकेको छ । १० गते पहिलो खेल पर्ने भएपछि संघले खेलाडी छनोट भने कर्तिक ७ गते गर्ने निर्धारण गर्दै सूचना जारी गरेको छ ।

खेल सुरु हुने दिनभन्दा ३ दिनअगाडि खेलाडी छनोट गरेर २ दिनको प्रशिक्षणपश्चात् टिमले प्रतियोगितामा आफ्नो पहिलो खेल खेल्नेछ । २ दिनको टिम प्रशिक्षणमा खेलाडीहरुले कत्तिको प्रदर्शन गर्न सक्छन् भन्ने विषयमा भने खेल अवधि कुर्नैपर्ने हुन्छ ।

मकवानपुर जिल्ला फुटबल संघले प्रतियोगिताका लागि खेलाडी छनोटको जिम्मा प्रशिक्षक विजयलाल श्रेष्ठ, विमल श्रेष्ठ र सुशीला अर्याललाई दिएको छ । यद्यपि महिला टिमको मुख्य प्रशिक्षकको जिम्मा भने हेटौंडा फुटबल एकेडेमीका अध्यक्ष तथा प्रशिक्षक भीम लामाले पाउने जनाइएको छ । टिम व्यवस्थापक भने अर्याल रहने प्रशिक्षक विजयलाल श्रेष्ठले जानकारी दिनुभयो । प्रशिक्षक भीम लामाले टिमका लागि प्रशिक्षण समय निकै कम भएकाले खेलाडीहरुको खेलमा असर पर्नसक्ने बताउनुभएको छ ।

‘खेलाडीहरुले व्यक्तिगतरुपमा प्रशिक्षण गरिरहेका भएपनि सबै खेलाडी एउटै सेटबाट छनोट हुन्छन् भन्ने छैन । त्यसैले टिममा प्रशिक्षणको कमी हुँदा खेलमा तालमेल मिल्दैन’, उहाँले भन्नुभयो । जसले गर्दा खेलाडीहरुले आफ्नो खेलसमेत प्रदर्शन गर्न नसक्ने प्रशिक्षक लामाको भनाई छ । तथापि टिम छनोट भएपछि कम समयमा भएपनि प्रशिक्षण गराएर टिमबाट उत्कृष्ट खेल प्रदर्शन गर्ने लक्ष्य लिएको उहाँले बताउनुभयो । प्रतियोगितामा सहभागी जनाउने भएपछि अलि चाँडै नै खेलाडी छनोट गरिनुपर्ने पनि उहाँले बताउनुभयो ।

दशैंअगाडि नै प्रतियोगितामा सहभागी जनाउने निश्चित भइसकेको भएपनि दशैंका कारण तत्कालै खेलाडी छनोट गर्न नसकिएको मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामाले बताउनुभएको छ । दशैंपछाडि सूचना जारी गरी तुरुन्तै खेलाडी छनोट गर्दा पनि सबै खेलाडीहरुलाई सूचना प्राप्त नहुने भएकाले ७ गतेसम्मको समय राखिएको उहाँको भनाई छ । खेलाडी छनोट गर्दा खेलिरहने र राम्रो खेल्ने खेलाडी छनोट गरिने भएकाले २ दिनको समय पनि खेलाडीहरुलाई पर्याप्त हुने उहा“ले बताउनुभयो ।

प्रतियोगितामा सहभागी ३१ टिमलाई १० समूहमा राखिएको छ भने प्रतियोगिता लिगकम नकआउटका आधारमा खेलाइने जनाइएको छ । एन्फाले हाललाई पहिलो चरण अर्थात् समूह चरणको खेल तालिकामात्र सार्वजनिक गरेको छ । पहिलो चरणको खेल आज कार्तिक ४ गतेदेखि दैनिक ३ वटा खेल भई कार्तिक १५ गतेसम्म हुनेछ । जसमा हेटौंडा समूह एफमा रहेको छ भने उक्त समूहमा हेटौंडासँगै गैंडाकोट नगरपालिका र तुलसीपुर नगरपालिका रहेका छन् । हेटौंडाले कार्तिक १० गते बिहान ९ बजे हुने खेलमा गैंडाकोट नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ भने १२ गते तुलसीपुरसँग खेल्ने तालिका रहेको छ ।