हेटौंडाः हेटौंडा–८ कमानेमा टोलस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी ८ नम्बर वडा कमिटीको आयोजना तथा ८ नम्बर वडा कार्यालयसँगको समन्वयमा टोलस्तरीय फुटबल प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगितामा वडाको १४ वटा टिमले सहभागिता जनाएका छन् । प्रतियोगितामा प्रथम हुनेले २५ किलोको खसी र द्वितीय हुनेले २० किलोको खसी प्राप्त गर्ने आयोजक रमेश उप्रेतीले जानकारी दिनुभयो ।
मंगलबार हेटौंडा–८ को वडाअध्यक्ष गोपाल श्रेष्ठको प्रमुख आतिथ्यतामा खेलको उद्घाटन भएको थियो । मंगलबार भएको विरेन्द्र मार्ग र महिला टोल विकास संस्थाको खेल २–२ गोलको बराबरीमा सकिएको थियो । खेलको नतिजा टाइबे्रकरबाट लिएको थियो । टाइब्रेकरमा विरेन्द्र मार्गले ३–२ गोलअन्तरले महिला टोल विकास संस्थालाई हराउँदै विजयी यात्रा सुरु गरेको छ । यस्तै मंगलबार भएको दोस्रो खेलमा कमाने युनाइटेडले विकास टोललाई २–० ले पराजित गरेको छ ।
प्रतियोगिताको उद्घाटनमा हेटौंडा–४ को वडाअध्यक्ष नवीन सिग्देल, मदन भण्डारी स्पोर्टस एकेडेमी मकवापनुरका अध्यक्ष प्रकाश सुवेदी, जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्ष सानु लामा, मकवानपुर फुटबल संघको अध्यक्ष टिका लामा, जिल्ला खेलकुद विकास समिति कार्यालय प्रमुख राजन दाहाल लगायतको उपस्थिति रहेको थियो ।